बुधबार, असोज ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सुरु

‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सुरु

‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सोमबारदेखि काठमाडौमा सुरु भएको छ।
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं- ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठी सोमबारदेखि काठमाडौमा सुरु भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघद्वारा आयोजना गरिएको गोष्ठीको आइतबार उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारीसँग बाझिएका ४७ वटा ऐन, कानून संशोधन गर्न आफूले सहयोग गर्ने बताए। 

‘म यहाँ आउनुअघि बालुवाटार गएको थिएँ प्रधानमन्त्री ज्यूले सहकारीहरुलाई काम गर्नका लागि बाधा पर्ने ४७ वटा कानुनहरु शंसोधन हुने कुरा भनिदिनु भन्नुभएको छ, अब सहकारीलाई व्यवसाय गर्न बाधा अड्चन हुने छैन, समस्या समाधान गर्नतर्फ सरकार अघि बढ्छ।,’ आलेले भने। 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीका माध्यमबाट उत्पादन बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात गर्नुपर्ने र सोको लागि युवा शक्तिको खाँचो रहेको बताए। 

सहकारीमार्फत् उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। उनले सहकारीमार्फत् कुनै पनि उत्पादनको पकेट क्षेत्र घोषणा गरेर गाउँगाउँमा आवश्यकताअनुसारका सामग्री उत्पादन गर्न सकिने बताए। सहकारीले व्यवसायिकतामा जान अठोट गरे गरिबी निवारण हुनुका साथै निर्यातसमेत गर्न सकिने उनको दाबी थियो। 

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमार्फत् गरिबी न्यूनिकरण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न सम्भव रहेको बताए। सहकारीमा आबद्व युवालाई उद्यमशीलतामा जोड्नसके रोजगारी बढ्नसक्ने उनको भनाइ थियो। 
देशभर रहेका ३० हजार सहकारीमध्ये ५०० वटा सहकारी उद्यमशीलतामा प्रत्यक्ष जोडिएको अध्यक्ष कँडेलले बताए।

उनका अनुसार सहकारीमा जोडिएका कुल सदस्यमध्ये ३७ प्रतिशत युवाहरु सहकारीमा आबद्ध रहेको दाबी गरे। हाल नेपालमा १० लाख मानिस सहकारीमा आबद्ध रहेका छन्। 

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा ‘उद्यमशीलता प्रवर्द्धनका लागि युवाको भूमिका’ र ‘सहकारीमा युवा र नविनतम् प्रविधिको प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत हुने राष्ट्रिय सहकारी महासंघकी प्रबन्धक चित्राकुमारी थामसुहाङले जानकारी दिइन्।

प्रकाशित: Mar 01, 2021| 12:20 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्