सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लामो समयदेखि अलपत्र दैजीछेला औद्योगिक क्षेत्रको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने

लामो समयदेखि अलपत्र दैजीछेला औद्योगिक क्षेत्रको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने

पहिलोपटक बजेट विनियोजन भएको २५ वर्षपछि कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्ने भएका हुन्। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

धनगढी - लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्ने भएको छ। 

पहिलोपटक बजेट विनियोजन भएको २५ वर्षपछि कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिलान्यास गर्ने भएका हुन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री ओली आज कञ्चनपुर आउने बताए।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलोपटक बजेट विनियोजन गरेको थियो। 

९ महिने शासनकालको पहिलो निर्वाचित कम्युनिस्ट सरकारले बजेट विनियोजन गरेको थियो।  

९ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको बताइएको छ। 

औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको थियो। २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका छन्।

२०७५ असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजीछेला क्षेत्रमा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेश गरेपछि सो काम अलपत्र परेको थियो ।

वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जंगली जनावरको हिँड्डुल गर्ने बाटो भएको भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने जनाएको थियो।

तर, वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग सबै प्रमाणसहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि ईआईए स्वीकृति भएको बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले बताए। 

अहिले २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने र पछि एक हजार बिघामा विस्तार हुने चन्दले बताए।

प्रकाशित: Feb 22, 2021| 02:04 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्