जनकपुरधाम - ‘लिभिङ रिलेसनसिप’मा रहेको युवकसँग नाता सम्बन्ध कायम गराउन निवेदन दिएकी एक महिला मृत फेला परेकी छन्।
नाता सम्बन्ध कायम गरीपाउँ भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएको केही दिन नबित्दै झापाकी ३५ वर्षीया समीक्षा पोखरेल मृत फेला परेकी हुन्।
उनी जनकपुरधाम उपमहानगरपालिका–७ स्थित नमस्कार होटेलमा शनिबार साँझ झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
ती महिला विवाहित रहेको र आफूभन्दा करिब १५ वर्ष कम उमेरको युवकसँग रिलेसनसिपमा रहेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
‘हामी सो युवकलाई प्रहरी कार्यालयमा उपस्थितिका लागि पक्राउ पुर्जी जारी गरेका थियौं,’ उनले भने, ‘तर, हिजो (शनिबार) मृत अवस्थामा फेला परेकी छन्।’
सो महिलाले काठमाडौंमा होस्टेल चलाउँदै आएको उनको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको रानाभाटले जानकारी दिए।
प्रहरी उपरीक्षक रानाभाटका अनुसार ती युवक फरार छन्।