स्याङ्जा- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
नेपाल तरुण दल आँधीखोला गाउँपालिका स्याङ्जाद्वारा आयोजित अन्तर्क्रिया तथा सम्मान कार्यक्रममा नेता पौडेलले ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको, चुनावमा समृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए।
नेकपाको दुई हिताई बहुमत प्राप्त सरकारले देशको नेतृत्व गर्न नसकेको उनको भनाइ थियो।
‘लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको छ, ३ वर्ष सम्म कुनै ठोस परिवर्तन हुन सकेको छैन, देशका समस्याहरु दिनप्रतिदिन बढ्दै गएको छ। कोरोनाको कारणले जनता अफ्ठयारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन सकेन, समयमा मल उपलब्ध गराउन सकेन, चौतर्फी भ्रष्टाचार र महंगी मौलाएको छ। सरकारले कुनै कारबाही गर्न र भ्रष्टचार नियन्त्रण गर्न सकेन, नेकपाको पार्टी पनि असफल भइसकेको छ’, पौडेलले भने।
‘शक्ति पृथकीकरणको सिद्धान्त कांग्रेसले स्थापना गरेको मुद्दा हो। यसले स्वतन्त्र अदालतको परिकल्पना गरेको छ। तर स्वतन्त्र भएर फैसला गर्दैगर्दा आन्दोलनबाट प्राप्त भएको शक्ति पृथकीकरणको सिद्धान्तलाई मार्न मिल्दैन। अदालतले कुल्चिने प्रयास गर्यो भने न्यायलयको पर्खाल भित्रै न्याय मर्छ।’ पौडेलले भने।