कर्णाली- विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझै साम्य भएको छैन।
कतिपय मुलुक त अझै बन्दाबन्दीमै छन्। नेपालमा भर्खर खोप अभियान सुरु भए पनि यसको त्रास कायमै छ। तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या बढिरहेको छ।
कोरोना महामारी सुरु भएयता सुर्खेतका एक हजार ३७३ युवाले राहदानी लिएका छन्। तीमध्ये ४९२ ले द्रुत माध्यमबाट राहदानी लिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।
कार्यालयका सूचना अधिकारी श्रीशम्शेर रानाले स्वदेशमा रोजगारीका अवसर नभएकाले युवा विदेशिने क्रम नरोकिएको बताए। ‘कोरोना महामारीमा घर फर्केका पनि महामारी नसकिँदै विदेशतिर गएको पाइयो’, उनले भने, ‘गाउँघरमै रोजगारीको भरपर्दो अवसर पाएको भए विदेश जाने क्रम केही रोकिन्थ्यो।’
विदेशबाट फेर्केका युवालाई लक्षित गरी स्थानीय निकायले आयआर्जन तथा रोजगारीका कार्यक्रम सञ्चालन नगर्दा युवा पुनः विदेशतर्फ लागेको उनको भनाइ छ।
त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो ६ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ। पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढ्दो छ।
श्रम तथा रोजगार कार्यालयका अनुसार आर्थिक वर्ष ०७५–०७६ मा ९२६ ले श्रम स्वीकृति लिएका छन्। कार्यालय प्रमुख सुनिता दर्लामीले यो सङ्ख्या बढेर गत आर्थिक वर्ष ०७६– ०७७ मा दुई हजार २६ ले पुनः श्रम स्वीकृति लिएको जानकारी दिए।
पुनः श्रम स्वीकृति लिनेमा संयुक्त अरब इमिरेट्स, साउदी अरब, दुबई, कतार, मलेशियालगायत खाडी मुलुक जाने छन्। खाडी मुलुकमात्र नभई छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको सङ्ख्या पनि बढी छन्।