सोमबार, असोज ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकद्वार प्रणाली कार्यान्वयन निर्देशिका संशोधन गरिँदै 

एकद्वार प्रणाली कार्यान्वयन निर्देशिका संशोधन गरिँदै 

भन्सार विभागसँगको समन्वयमा एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका संशोधन गर्न लागेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- भन्सार विभागसँगको समन्वयमा एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका संशोधन गर्न लागेको छ।

विभागले खाद्य पदार्थ आयात निर्यात निरीक्षण एवम् प्रमाणिकरण निर्देशिका २०६४ संशोधन गर्न लागेको हो।

भन्सार विभागले प्लान्ट क्वारेन्टाइन र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका दर्जन बढी नियकासँग समन्वय गरी आयात निर्यातका लागि एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएपछि खाद्य प्रविधि विभाग निर्देशिका संशोधनमा जुटेको हो।

त्यसका लागि आवश्यक अध्ययन गर्न एक समिति गठन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

महर्जनका अनुसार निर्देशिका संशोधनका लागि विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

उक्त कार्यदलले अहिले कार्यान्वयनमा रहेको खाद्य पदार्थ आयात निर्यात निर्देशिका २०६४ अध्ययन गरी उक्त निर्देशिकालाई समय सापेक्ष बनाउने विषयमा विभागका महानिर्देशकलाई प्रतिवेदन बुझाउने छ। ‘अहिले कार्यान्वयनमा रहेको निर्देशिकामा विद्युतीय माध्यममार्फत् अनुमति लिनसक्ने विषयमा उल्लेख गरिएको छैन’ समितिका संयोजक खत्रीले भने, ‘विद्युतीय माध्यममार्फत् पनि खाद्य पदार्थ आयात निर्यातका लागि अनुमति लिन सकिने प्रावधान निर्देशिकामा राख्न के के गर्नुपर्ला भनेर अध्ययन गरिने छ।’

बिहीबार गठन गरिएको उक्त समितिलाई अध्ययन गरी महानिर्देशक समक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको छ। ‘खाद्य पदार्थको आयात निर्यातको अनुमति लिन विभागमै आएर निवेदन दिनुपर्ने हुन्थ्यो’ खत्रीले भने, ‘अब विद्युतीय माध्यमबाट पनि लिन सकिने व्यवस्था गरेपछि त्यसमा सिग्नेचर र स्टाम्प चाहिने वा नचाहिने भन्ने कुरा चाँहि छलफलको विषय छ।’

खाद्य आयात निर्यातका लागि विभागमै गएर निवेदन दिनुपर्नेमा एकद्वार प्रणाली कार्यान्वयनमा आएसँगै अनलाइनमार्फत् पनि अनुमति लिन सकिने छ। ‘अनुमतिका लागि विभागको विद्युतीय माध्यममार्फत् आवेदन दिनुपर्छ। विभागले त्यसलाई अनुमोदन गरेपछि भन्सार विभागले त्यसलाई सोझै देख्न पाउँछ’ खत्रीले भने, ‘त्यसपछि कागजात बोकेर विभाग गइरहनु पर्दैन।’

यसअघि भन्सार विभागले १२ माघदेखि एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको थियो। आयात निर्यातसम्बन्धी विभिन्न दर्जनभन्दा बढी निकायसँग समन्वय गरी विभागले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको थियो। यसका लागि भन्सार विभागले सफ्टवेयरको व्यवस्था गरिसकेको छ।

अन्य सबै निकायसँग सफ्टवेयर लगायतका आवश्यक पूर्वाधारको तयारी नभएपछि तत्काललाई एकद्वार प्रणाली परीक्षणका रुपमा रहेको छ।

भन्सार जाँचपास प्रक्रियालाई सहज र छिटो बनाउन मद्दत पुग्ने र आयात निर्यात सहज हुने विद्युतीय प्रणाली एकद्वार प्रणाली हो।

प्रकाशित: Feb 14, 2021| 12:45 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्