काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरुमार्फत् हुँदै आएको सुनको आयात र बिक्रीवितरण कार्य थप व्यवस्थित र प्रभावकारी बनाइने बताएको छ।
सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले सो कुरा बताएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरुसँग मंगलबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार काम भए–नभएको अनुगमन गरी त्यसलाई ब्यवस्थित गर्न पहल गरिने प्रतिबद्धता जनाएका छन्।
उनले तोकिएका नाकाहरुबाट पनि सरल र सहज रुपमा सुन वितरणको ब्यवस्था मिलाउन, १५ दिनअगावै सिफारिस बिना नै सुन बिक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आपूर्तिमा लागू हुँदै आएको कोटाको सीमा पुनरवलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायज मागहरुको सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसाय सञ्चालनको दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तिनलाई हल गर्नका लागि पहल गर्न आग्रह गरे। उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको ठूलो भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न अनुरोध गरे।