काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षकले भोग्नु परिरहेका समस्याबारे आफू जानकार भएको बताएका छन्।
आइतबार शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षकको कमाइले बढ्दो महँगीमा दुई छाक टार्न पनि मुस्किल हुने बताए। शिक्षामन्त्री भएपछि पहिलो पटक आयोगमा पुगेका श्रेष्ठले विषयगत कुरामा प्रवेश नै नगरी आफ्नो मन्तव्य सकेका थिए।
उनले भने, ‘मैले भन्नुपर्ने सबै विषय शिक्षा सचिव र आयोगका कामु प्रशासकीय अधिकृतले राखिसक्नु भयो। मेरो भन्ने कुरा त्यही हो।’ आफ्नो कुरामा शिक्षाका विभागीय प्रमुखहरु हाँसेको मेसो पाएपछि उनले भाषण लम्ब्याए र भने, ‘शिक्षण मर्यादित पेशा हो। शिक्षा दिवस कहिलेलाई मान्ने ? त्रिचन्द्र क्याम्पस स्थापना भएको दिनलाई शिक्षा दिवस भनिदिने हो कि अब मन्त्रालयमा छलफल गरेर शिक्षा दिवस तोक्नुपर्छ ?’
फेरि उनले जोडे, ‘शिक्षा सेवा आयोग भनेको मन्त्रालयको एउटा महत्वपूर्ण विभाग हो। तर हेर्नुस् न, सबै विश्वविद्यलायमा आ–आफ्नै सेवा आयोग छ। विश्वविद्यलाय पनि त त्यही १०–११ वटै त छ होला। सेवा आयोग पनि थरीथरी र किसिम–किसिमका छन्। मन्त्रालयले के के मात्र सोच्ने ? सेवा आयोगको नाम नै छनोट समिति छ।’
उनले आयोगलाई बिरालोको रंगसँग तुलना गर्दै भने, ‘बिरालोका रंग पनि कोही खैरो, कोही कालो, कोही सेतो छ। जुन रंगको भए पनि बिरालोको काम मुसा मार्ने हो। त्यही मुसो मारे भैगो नि। छनोट समिति भने पनि काम त प्रक्रिया पूरा गरेर शिक्षक नियुक्ति गर्ने त हो।’ आफूले विश्वविद्यालयको पनि सिस्टम बुझ्दै गएको मन्त्रीले सुनाए।
शिक्षकहरुको क्षमता विकास गर्न सकियो भने दक्ष जनशक्ति निर्माण गर्न सकिने उनले बताए। उनले भने, ‘तर विडम्बना हेरौं, हाम्रो सामुदायिक शिक्षाको अवस्था। सम्झँदै जाँदा पीडा हुन्छ।’
शिक्षा क्षेत्रमा विकास भन्दा पनि भएको खर्चको हिसाब नै नमिलेको, बेरुजु नै बेरुजु भएको विषयमा सचिव र विभागका निर्देशकहरुलाई इंगित गर्दै उनले प्रश्न गरे।
उनले शिक्षा मन्त्रालयलाई काँडाको झ्याङसँग तुलना गर्दै भने, ‘शिक्षा मन्त्रालय काँडाको झ्याङजस्तै भएको छ। समस्या नै समस्या छन्। कहिले अस्थायी शिक्षकका समस्या, कहिले राहतका समस्या, कहिले विद्यालय व्यवस्थापनका समस्या, कहिले पेशागत संगठनका समस्या। कर्मचारीको तलबका समस्या, पदका समस्या, पदाधिकारी नियुक्तिका समस्या, पाठ्यक्रमका समस्या। म समस्या नै समस्या भएको मन्त्रालयको मन्त्री। अझ तपाईंहरुलाई थाहा नभएको पनि एउटा समस्या छ। त्यो हो द्वन्द्वपीडित शिक्षकका समस्या।’
आफू मन्त्री भएदेखि गएको एक महिना समस्यामात्रै सुनेको उनले सुनाए। ‘शिक्षा मन्त्रालयमा आएदेखि मेरो कुरा काट्ने पनि छन्। तर मलाई जस्तो शिक्षकका समस्या कसैलाई थाहा छैन।’
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षक छान्दा योग्यता प्रणाली र परीक्षण प्रणालीमा परिवर्तन ल्याउने बताए। उनले भने, ‘अब लिखित परीक्षामात्रै होइन, कक्षामा प्रस्तुतिको आधारमा पनि अंक दिने व्यवस्था गर्नुपर्छ।’
शिक्षा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले आयोगमा समावेशिता, गुणस्तर, निष्पक्षतालाई अघि बढाउनुपर्ने, प्रविधि आत्मसात् गर्दै आफ्नो कामकारवाही अघि बढाउनुपर्ने बताए।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक सेवा आयोगको सेवा विस्तारलगायत आयोगलाई निष्पक्ष र स्वायत्त बनाउनुपर्नेमा जोड दिए।
अहिले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति नहुँदा १२ हजार ६१ जना स्थायी शिक्षकको दरबन्दी रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेको छैन। त्यस्तै २ हजार ६८९ जना शिक्षकको बढुवा पनि रोकिएको छ। शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा पनि हुन सकेको छैन। यी विषयमा भने मन्त्रीले केही बोलेनन्।