शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • २०औँ एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै

२०औँ एशियाली खेलकुद आजदेखि जापानमा, ४५ देशका खेलाडी सहभागी हुँदै

 |  शनिबार, असोज ३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३, २०८३

काठमाडौं- २०औँ संस्करणको एशियाली खेलकुद जापानको आइची–नागोयामा आजदेखि औपचारिक रुपमा शुरु हुदैछ। अक्टोबर ४ सम्म आयोजना हुने एशियाली खेलकुद एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिताका रूपमा रहेको छ। 

यस संस्करणमा एसियाली ओलम्पिक परिषद्का ४५ सदस्य राष्ट्र तथा क्षेत्र सहभागी हुँदैछन्। प्रतियोगितामा ११ हजारभन्दा बढी खेलाडी र ६ हजार अधिकारीसहित १७ हजारभन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। यसपटक ४३ खेलका ७१ विधामा कुल ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। विभिन्न खेलका १ हजार ४०७ पदक वितरण गरिनेछ।

यस संस्करणमा मिश्रित मार्सल आर्ट्स पहिलोपटक एशियाली खेलकुदमा समावेश गरिएको छ। साथै प्याडल र टेकबललाई पनि पहिलोपटक समावेश गरिएको छ। भर्चुअल तेक्वान्दो पनि यसपटकको नयाँ आकर्षण बनेको छ। विद्युतीय खेल र ब्रेकिङले समेत प्रतियोगितामा निरन्तरता पाएका छन्। स्वतन्त्र शैलीको बीएमएक्सलगायतका विधाले पनि प्रतियोगितालाई थप विविध बनाएका छन्। क्रिकेटलाई पनि यस संस्करणमा निरन्तरता दिइएको छ। क्रिकेटतर्फ महिला र पुरुष दुवैको टी–२० प्रतियोगिता हुनेछ।

एशियाली खेलकुदको इतिहास दोस्रो विश्वयुद्धपछि सुरु भएको हो। एसियाली देशबीच युद्धका कारण कमजोर बनेको सम्बन्धलाई खेलकुदमार्फत पुनः मजबुत बनाउने उद्देश्यले यस प्रतियोगिताको अवधारणा अघि बढाइएको थियो।  पहिलो एशियाली खेलकुद सन् १९५१ मार्च ४ देखि ११ सम्म भारतको नयाँदिल्लीमा आयोजना भएको थियो। पहिलो संस्करणमा जापानसहित ११ देशका ४८९ खेलाडी सहभागी भएका थिए। त्यसबेला एथलेटिक्स, पौडी, फुटबल, भारोत्तोलन, साइकल र बास्केटबलसहित सीमित खेलमा प्रतिस्पर्धा भएको थियो।

सन् १९४९ मा नयाँदिल्लीमा एशियाली खेलकुद महासंघ गठन भएपछि नियमित रूपमा प्रतियोगिता आयोजना गर्ने आधार तयार भएको थियो। दोस्रो संस्करण सन् १९५४ मा फिलिपिन्सको मनिलामा आयोजना भयो। त्यसपछि सामान्यतः प्रत्येक चार वर्षमा एशियाली खेलकुद आयोजना हुँदै आएको छ। सन् १९८१ मा एशियाली खेलकुद महासंघको नाम परिवर्तन गरी एशियाली ओलम्पिक परिषद् बनाउने निर्णय भएको थियो। त्यसपछि यही संस्थाले एशियाली खेलकुदको आयोजना र व्यवस्थापन गर्दै आएको छ।

आइची–नागोया जापानमा आयोजना हुने एशियाली खेलकुदको तेस्रो संस्करण हो। जापानले यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमामा एशियाली खेलकुद आयोजना गरेको थियो।

नेपालको सहभागिता: 
प्रतियोगितामा नेपालबाट २२ खेलमा ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट प्रतियोगितामा २११ सदस्यीय टोली सहभागी हुँदैछ। टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टोलीका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथिसहित सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारी सहभागी हुनेछन्। 

नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ। पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ। यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन्। क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबलटेनिस र कुस्तीमा समान ६–६ खेलाडी सहभागी हुनेछन्।

नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो। त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकविहीन भएर फर्किएको छैन। नेपालले अहिलेसम्म एशियन गेम्समा १० खेलमा ३ रजत र २३ काश्य गरि कुल २६ पटक जितेको छ। तर नेपालले एशियन खेलकुदमा अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन।   

कुन खेलमा कति खेलाडी ?
नेपालले टिम खेलतर्फ कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा सहभागिता जनाउनेछ भने बाँकी १९ वटा व्यक्तिगत खेल रहेका छन्। टिम खेलमध्ये कबड्डीका पुरुष र महिला दुवै टोली गरी सर्वाधिक २४ जना खेलाडी सहभागी हुनेछन्।

यस्तै पुरुष क्रिकेट टोलीमा १५ र महिला भलिबल टोलीमा १२ खेलाडी समावेश छन्। व्यक्तिगत खेलतर्फ उसुबाट सर्वाधिक ११ खेलाडी रहनेछन् भने डान्स स्पोर्टमा १ जना मात्रै खेलाडी छन्।

नेपालले आर्चरी (२), एथलेटिक्स (६), ब्याडमिन्टन (४), बक्सिङ (७), साइक्लिङ (२), गल्फ (४), जुडो (६), कराते (८), सफ्ट टेनिस (४), स्क्वास (२), पौडी (५), टेबलटेनिस (६), टेनिस (५) र कुस्ती (६) मा पुरुष र महिला दुवैतर्फ प्रतिस्पर्धा गराउनेछ। त्यसैगरी, क्यानोइ स्लालोम (२), स्केटबोर्ड (२) र तेक्वान्दो (२) मा भने पुरुष खेलाडीको मात्र सहभागिता रहनेछ।

यसअघि सन् २०२३ मा चीनको हाङझावमा सम्पन्न १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी (१२६ पुरुष र १२७ महिला) सहभागी भएका थिए। उक्त संस्करणमा नेपालले करातेकी एरिका गुरुङको ऐतिहासिक रजत र महिला कबड्डी टोलीको कांस्य गरी दुई पदक जितेको थियो।

प्रकाशित: Sep 19, 2026| 07:31 शनिबार, असोज ३, २०८३
प्रतिक्रिया दिनुहोस्