काठमाडौं– नेपाल राष्ट्र बैंकले थप चारवटा भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थालाई सञ्चालन अनुमति दिएको छ।
चालू आर्थिक वर्ष ०७७–०७८ को मौद्रिक नीतिमा भुक्तानी सेवा प्रदायक संस्था सञ्चालनका लागि अनुमति नदिने व्यवस्था गरेको राष्ट्र बैंकले थप भुक्तानी सेवा प्रदायक संस्थालाई सञ्चालन अनुमति दिएको हो।
मौद्रिक नीतिको बुँदा नम्बर १४७ मा ‘भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु सञ्चालन गर्न यसअघि सैद्धान्तिक सहमति प्रदान गरिएका बाहेक नयाँ अनुमति दिने कार्य स्थगन गरिएको’ उल्लेख छ। तर, राष्ट्र बैंकले थप ४ वटा भुक्तानी सेवा प्रदायकलाई अनुमति दिएको हो।
राष्ट्र बैंकले भने मौद्रिक नीति आउनुपूर्व नै अनुमतिका लागि आवेदन दिएकालाई मात्रै अनुमति दिएको जनाएको छ।
अनुमति पाएका थप चार पीएसपीमा कुुराकानी पे प्रालि, पेवेल प्रालि, जिएमई पे प्रालि र गोल्डमाइन बिजनेस ग्रुप प्रालिको दि पैसा रहेका छन्। कुराकानी पेले ०७७ असोज २९ मा, पेवेलले असोज ११ मा, जिएमई पेले असोज २२ मा र दि पैसाले मंसिर २९ मा अनुमति पाएका छन्।
योसँगै नेपालमा भुक्तानी सेवा प्रदायक संस्थाको संख्या १७ पुगेको छ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोख्रेलले अनुमति पाएका संस्थाहरुले मौद्रिक नीतिमा उक्त व्यवस्था हुनुपूर्व नै अनुमतिका लागि आवेदन दिई प्रक्रिया पूरा गरेकाले उनीहरुलाई अनुमति दिइएको प्रतिक्रिया दिए।
'असार मसान्तसम्म आवेदन दिने, एलवाई पाइसके पनि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका भुक्तानी सेवा प्रदायकलाई अनुमति दिइएको हो,' पोख्रेलले भने।
*सच्याइएको