शनिबार, असोज ३, २०८३

देशकै ठूलो सौर्य परियोजना बन्दै, लगानी २२ अर्ब

नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजना निर्माण हुने भएको छ। 
 |  मंगलबार, माघ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १३, २०७७

काठमाडौं– नेपालमा हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजना निर्माण हुने भएको छ। 

४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रिडमा जोडिने परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न मंगलबार सम्झौता भएको छ। परियोजनाको लागत २१ अर्ब ९८ करोड रुपैयाँ अनुमान गरिएको लगानी बोर्डले जनाएको छ। 

लगानी बोर्ड र परियोजना निर्माण कम्पनी राइजेन इनर्जी सिंगापुर जेभीबीच मंगलबार भएको सम्झौताअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा १२५–१२५ मेगावाटका परियोजना बन्छन्। त्यसैगरी २०–२० मेगावाटका ब्याट्री स्टोरेज प्लान्ट स्थापना गरिनेछ। 

सम्झौतामा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वायङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डलाई बुझाउनुपर्ने छ।

लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार बोर्डको ०७७ असार ५ मा बसेको ४४ औं बैठकले सो कम्पनीलाई डिएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो। 
 

प्रकाशित: Jan 26, 2021| 11:31 मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्