काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा २ प्रतिशत पनि पूँजीगत खर्च गर्न सकेको छैन।
उक्त मन्त्रालयले चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १.९९ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ।
चालू आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कुल बजेट १ अर्ब ८२ करोड रुपैयाँ थियो। सोमध्ये चालू आवको ६ महिनामा ४ करोड रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत गत आर्थिक वर्षको भन्दा न्यून पूँजीगत खर्च भएको जनाएको छ। चालू आर्थिक वर्षमा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा करिब ९० प्रतिशतले कम पूँजीगत खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
गत वर्षको पहिलो ६ महिनामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च ३७ करोड रुपैयाँ थियो।