काठमाडाैं- कोरोना भाइरस महामारीका कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका निजी विद्यालय धमाधम खुल्न थालेका छन्।
स्थानीय तहको अनुमति बिनै विद्यालयले पठनपाठन सञ्चालन गरेका हुन्।
काठमाडौंको अनामनगरस्थित नेपाल मेगा स्कुलले आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेको छ।
विद्यालयले प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई सातामा तीन दिन र ६ देखि १० सम्मका विद्यार्थीलाई तीन दिन मात्र बोलाएर पठनपाठन थालेको हो।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको मेगा स्कुलका प्रधानाध्यापक मदनकुमार पोखरेलले बताए। स्थानीय तहबाट विद्यालय सञ्चालन अनुमति नपाए पनि अभिभावककै आग्रहपछि विद्यार्थीलाई भौतिक उपस्थितिमै पढाउन थालिएको उनको भनाइ छ।
लामो समयपछि विद्यालय खुल्दा विद्यार्थी खुसी त देखिएका छन्। तर, अझै पनि कोभिडको जोखिम नसकिएको भन्दै त्रसितसमेत देखिन्छन्।
यद्यपि भौतिक उपस्थितिमै पढ्न पाउँदा विषयवस्तु बुझ्न सहज भएको अनुभव उनीहरुले सुनाए।
अनामनगरकै अर्को विद्यालय एसियन पब्लिक स्कुल पनि सञ्चालनमा आएको छ। दुई सातादेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको स्कुलले जनाएको छ।
काठमाडौं महानगरअन्तर्गतको शिक्षा विभागले कुनै अनुमति नदिए पनि अभिभावकै कर बलपछि विद्यालय सञ्चालनमा ल्याएको सहायक प्रधानाध्यापक मेघराज अधिकारीले बताए। विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको उनको भनाइ छ।
अधिकारीले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गरेको दाबी गरे पनि विद्यार्थीबीच भौतिक दुरी देखिन्न थियो।
चौरमा राखेर पठन पाठन गर्दै आएको एसिया पब्लिकमा विद्यार्थी कहाँ गए र के गरे भन्ने विषयमा पनि खासै वास्ता गरेको देखिएन।
गतिलो व्यस्थापबिनै, स्वास्थ्य सुरक्षाको भरपर्दो मापदण्डसमेत पालना नगरी काठमाडौं उपत्यकाका अधिकांश निजी विद्यालय सञ्चालनमा आएका छन्।

सरकारी स्कुल भने खुलेका छैनन्। कतिपयले खोल्ने सुरसारसमेत गरेका छैनन्। माघ ४ गते काठमाडौंको पुरानो बानेश्वरस्थित रत्नराज्य मावि सुनसान थियो। केही शिक्षक चौरमा घाम तापेर गफमा मस्त थिए। २/४ जना विद्यार्थी आफ्ना समस्या लिएर विद्यालय आएका थिए।
विद्यालय खोल्ने सुरसार किन नगरेको भन्ने प्रश्नमा विद्यालयका निमित्त प्रधानाध्यापक रामाशिष यादव भन्छन्– ‘स्थानीय तहबाट औपचारिक पत्र नआई कसरी खोलौं?’
काठमाडौं उपत्यका स्थानीय तहले विद्यालयहरु कहिलेबाट कसरी खोल्ने भन्ने विषयमा अहिलेसम्म ठोस निर्णय नगर्दा शिक्षक, अभिभावक र विद्यार्थी अलमलमा परेका छन्।
काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागका प्रमुख सुवेदीले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनबारे केही दिनमै निर्णय हुने बताए। उनले भने, ‘सरोकारवालाहरुसँग छलफल जारी छ। केही दिनमा निर्णय होला।’