बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका नवप्रवेशी नेताको अनुभव– बल्ल खुलेर बोल्न पाइयो

कांग्रेसका नवप्रवेशी नेताको अनुभव– बल्ल खुलेर बोल्न पाइयो

लामो समय कांग्रेसमै रहेर राजनीति गरेकाहरुका लागि केन्द्रीय समिति बैठक नौलो भएन। तर, आफूलाई लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसमा भर्खरै भित्रिएकाहरुको अनुभव कस्तो छ त ? 
 |  बिहीबार, पुस २३, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, पुस २३, २०७७

काठमाडौं– नेपाली कांग्रेसको पुस ७ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक अब आगामी सोमबार बस्दैछ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेताहरु निर्वाचनको तयारीमा लाग्ने कि आन्दोलनमा जाने भन्ने बारेमा विभाजित भए। 

पार्टीकाे आन्तरिक विवादमा केन्द्रित रहेर माथापच्ची हुनु कांग्रेभित्र नौलो विषय होइन। पार्टीका बैठकमा एकअर्काको तीव्र आलोचना गर्ने र त्यसलाई सहने पनि कांग्रेसभित्र सामान्य कुरा हो। 

तर, जारी बैठकमा प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेस भावी रणनीति बनाउने विषयमा विभाजित देखियो। र, नेताहरु भनाभनमै उत्रिए।   

१३ औं महाधिवेशनबाट निर्वाचित र मनोनित गरी ८५ सदस्यीय कांग्रेसको केन्द्रीय समिति हाल १०४ सदस्यीय पुगेको छ। यसबाहेक २२ जना आमन्त्रित पनि थपिएका छन्। 

थपिएका केन्द्रीय सदस्यहरुमा तत्कालीन एमाले, माओवादी, राप्रपादेखि मधेस केन्द्रित दलबाट आएकाहरुसमेत छन्। केहीले यसअघि नै कांग्रेस केन्द्रीय समिति बैठकको अनुभव संगालिसकेका छन् भने केहीका लागि यो नै पहिलो अनुभव भएको छ। 

लामो समय कांग्रेसमै रहेर राजनीति गरेकाहरुका लागि केन्द्रीय समिति बैठक नौलो भएन। तर, आफूलाई लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसमा भर्खरै भित्रिएकाहरुको अनुभव कस्तो छ त ? 

केन्द्रीय समिति बैठकको प्रक्रिया र त्यसमा भइरहेको छलफललाई उनीहरुले कसरी लिएका छन् ? पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कस्तो रहेछ ? यसबारे बुझ्न हामीले नेपाली कांग्रेसमा हालै प्रवेश गरेका केही नेताहरुसँग कुरा गरेका छौं। 

राप्रपाबाट कांग्रेस प्रवेश गरेर सह-महामन्त्रीको जिम्मेवारी पाएका सुनिलबहादुर थापा भन्छन्, ‘प्रजातान्त्रिक पार्टी भएकाले कांग्रेसमा आफ्ना कुरा राख्ने विषयमा कुनै बन्देज नहुने रहेछ। यस्तो उदारपन राप्रपामा थिएन। यो नै सबैभन्दा राम्रो पक्ष लाग्यो।’ 

राप्रपाका बैठकमा निर्धारित समयमा तोकिएको एजेन्डाबाहेक अन्य विषयमा बोल्न नपाइने आफ्नो तितो अनुभव रहेको थापाले सुनाए। ‘तोकिएको एजेन्डामा रहेर निश्चित समयभित्र बाहेक बोल्न पाइँदैनथ्यो। तर, यहाँ त्यस्तो छेकबार रहेनछ।’

उनले कांग्रेसभित्र सबै सदस्यले निर्धक्क बोल्न पाइने र त्यसलाई अरुले हार्दिकतापूर्वक लिने प्रवृत्ति रहेको सुनाए। 

नेकपा माओवादी परित्याग गरेर हाल कांग्रेस केन्द्रीय समितिको जिम्मेवारी पाएका जनकराज कलौनी कम्युनिस्ट र कांग्रेस पार्टीमा ठूलो फरक पाएको बताउँछन्। 

‘कम्युनिस्ट पार्टीमा कुनै पनि विषयवस्तुलाई प्रमाणित गर्नुपरे घुमाउरो शैली अपनाइन्थ्यो। तर कांग्रेसमा सिधा कुरा हुँदो रहेछ। आफ्ना कुरा पनि सिधै राख्न पाइँदो रहेछ,’ उनले आफ्नो अनुभव सुनाए, ‘कम्युनिस्ट पार्टीमा नेतृत्वको आलोचना सिधै गर्न नपाइने। गर्नुपर्ने अवस्था आयो भने धेरै गाह्रो हुन्थ्यो। तर यता त्यस्तो रहेनछ।’ 

संसद् विघटनपछि भएको बैठकमा नेताहरुले खुलेर कुरा राखेको देखेर खुसी लागेको उनी सुनाउँछन्। 

‘संसद् विघटनपछि बसेको बैठकमा नेताहरुले समसामयिक राजनीतिका बारेमा खुलेर कुरा राख्नुभयो। संगठन, नेतृत्वका बारेमा पनि लागेका कुरा राख्नुभयो,’ उनले भने, ‘उता त एजेन्डाका वरीपरी रहेर मात्रै कुरा राख्न पाइन्थ्यो।’ 

कांग्रेस सोचेभन्दा बढी लोकतान्त्रिक पार्टी रहेको उनको बुझाइ छ। 

‘अहिलेसम्मको मेरो अनुभवमा कांग्रेसभित्र लोकतन्त्रको अभ्यास मजबुत रहेछ भन्ने हो। पार्टी केन्द्रीय समिति बैठकमा पनि साँच्चिकै लोकतान्त्रिक अभ्यासको अनुभव गरें,’ कलौनीले भने। 

बाहिरबाट हेर्दाको कांग्रेस र कांग्रेसी भएर हेर्दाको कांग्रेस धेरै फरक रहेको उनको अनुभव छ। राप्रपाबाट कांग्रेस प्रवेश गरेर केन्द्रीय सदस्यको जिम्मेवारी पाएका किरण गिरी पनि कांंग्रेसको बैठक उदार र सहिष्णु रहेको अनुभव सुनाउँछन्। 

उनी भन्छन्, ‘राप्रपामा गणतन्त्र शब्द उच्चारणसमेत गर्न पाइँदैनथ्यो। यता त जुन विषयमा पनि खुला बहस गर्न पाइने रहेछ।’ 

नेता सुनिल थापाको जस्तै उनी पनि राप्रपाका बैठकमा एजेन्डाभन्दा बाहेकका विषयमा बोल्न नपाइने र समयको प्रतिबन्ध लाग्ने गरेकोमा कांग्रेसभित्र जुनकुनै विषयमा पनि खुला रुपमा बोल्न पाइएको बताउँछन्। 

कांग्रेस प्रवेशपछि पूर्ण स्वतन्त्रताको अनुभव पाएको र आफूलाई नवप्रवेशी जस्तो नभई सबैले मित्रवत व्यवहार गरिरहेको उनी बताउँछन्। 

‘स्वतन्त्रपूर्वक बोल्ने, समीक्षा गर्ने र मित्रवत व्यवहार गर्ने परम्पराबाट म प्रभावित छु,’ उनले भने, ‘आलोचना गर्न पनि पाइने र आलोचना पचाउने शैली गज्जबको रहेछ।’  

प्रकाशित: Jan 07, 2021| 13:06 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।