शुक्रबार, असोज २, २०८३

सहकारीको कारोबार १० खर्ब, ८८ हजार प्रत्यक्ष रोजगार  

सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ मध्ये महिला सदस्य ५६ प्रतिशत छन्। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– नेपालमा सहकारी क्षेत्रको कुल कारोबार ९ खर्ब ९८ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ बराबर पुगेको छ। 

यो रकमलाई नेपालको कुल गार्हस्थ उत्पादन (रु. ३७ खर्ब ६७ अर्ब) सँग तुलना गर्ने हो भने २६.५ प्रतिशत हुन आउँछ।

सहकारी विभागले सोमबार नेपाल राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदन अनुसार मुलुकभरका सहकारीहरुसँग ९४ अर्ब १० करोड ५० लाख सेयरपुँजी छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बचत र ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी छ । 

पछिल्लो समयमा नीतिगत स्पष्टतासँगै सहकारीप्रति सर्वसाधरणको विश्वासमा आएको वृद्धिका कारण सहकारीको कारोबार बढेको हो। 

यसअघि २०७४ असार मसान्तमा सहकारी विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सहकारीमा ७ खर्ब बराबरको कारोबार भएको थियो । 

मर्जरले फाइदा 

गत वर्ष सहकारी विभागले देशमा सहकारीको संंख्या धेरै भएको भन्दै मर्जर नीति ल्याएको थियो। उक्त नीति अनुसार उस्तै प्रकृतिका सहकारीहरु एकआपसमा गाभिए। 

विभागका अनुसार कात्तिक मसान्तसम्म नेपालभर २९ हजार ८८६ प्रारम्भिक सहकारी छन् । ती सहकारीले ९ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन्। 

२०७४ असार मसान्तमा सहकारीहरुको संख्या ३४ हजार ५१२ थियो भने उनीहरुले जम्मा कारोबार ७ खर्ब रुपैयाँ बराबरको थियो। 

सहकारी क्षेत्रले पछिल्लो समयमा विश्वासनीयता वृद्धि गरेको विभागका रजिष्टार डा.टोकराज पाण्डे बताउँछन्। 

उनी भन्छन्, ‘सहकारीको संख्यामा कमी आए पनि कारोबारमा भएको बृद्धिले पनि समग्रमा सहकारीको विश्वसनीयता भएको कुरा पुष्टि गर्छ।’

सहकारी विभागले जारी गरेको तथ्यांक अनुसार सहकारीबाट ८८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। 

सहकारीको अभिलेख स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेको तीन वर्षपछि विभागले सहकारीको तथ्यांक सार्वजनिक गरेको हो ।

७३ लाख सदस्य, ५६ प्रतिशत महिला 

सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ रहेको विभागले जनाएको छ। यीमध्ये महिला सदस्य ५६ प्रतिशत छन्। 

विभागका अनुसार नेपालमा हाल २० वटा विषयगत केन्द्रीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक, एउटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील छन्। 
 

प्रकाशित: Jan 04, 2021| 11:35 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्