काठमाडौं– कोरोना भाइरसले विश्वलाई नै गाँजेको एक वर्ष भइसक्यो। अहिले पनि संक्रमित थपिने र मृत्यु हुने क्रम जारी छ। सँगै उत्साहजनक खबरहरु पनि आइरहेका छन्। अमेरिका, बेलयात, क्यानाडालगायत देशमा भ्याक्सिन लगाउन सुरु गरिएको छ। भारतमा पनि त्यसको अन्तिम तयारी भइरहेको छ।
कोरोनाको औषधि वा भ्याक्सिन नबन्दा मानिसहरुले यसबाट बच्न अनेक घरेलु उपाय अपनाए, जडिबुटी र आयुर्वेदिक औषधिले बजार पायो। तर, घरेलु उपायले पनि सधैं काम कहाँ गर्छ र ! कहिलेकाहीँ त उल्टो असर गर्छ।
बेलायतमा यस्तै भयो। पानी धेरै पिएमा कोरोनाबाट बच्न सकिन्छ भनेर एक व्यक्तिले बेस्सरी पानी पिए। आखिरमा त्यही पानीले उनलाई अस्पतालको आईसीयूमा पुर्यायो। खबर ब्रिस्टल सहरको हो। कोरोनाको लक्षण देखिएपछि ३४ वर्षीय ल्युक विलियम्सनले शरीरलाई चाहिनेभन्दा बढी पानी पिउन थाले।
त्यसो त डाक्टरले उनलाई दिनमा दुई लिटरसम्म पानी पिउन भनेका थिए। तर जतिसक्दो बढी पानी पिउनुपर्छ भन्ने सुनेका ल्युकले दैनिक ५ लिटरसम्म पानी पिइदिए। यसले गर्दा उनको शरीरमा सोडियमको मात्रा कम हुन पुग्यो। बाथरुममा ढलेपछि उनलाई तत्काल अस्पताल लगियो। उनको हालत देखेर डाक्टरले आईसीयूमा भर्ना गर्न सुझाव दिए।
डाक्टरका अनुसार अधिक पानी पिउनाले ल्युकको शरीरमा नुनको कमी भयो र दिमागमा सुजन (सुन्निने) समेत समस्या देखियो। तीन दिन आईसीयूमा राखेपछि मात्र उनको स्वास्थ्यमा सुधार भएको छ।
–नवभारत टाइम्स