शुक्रबार, असोज २, २०८३

गति छैन भने जीवन र मानव सभ्यता छैन

कोरोना कालमा सार्वजनिक भएर चर्चा कमाएका तीन आख्यानमाथि छलफल गर्दै यसपालीको पोखरा महोत्सव समापन भयो।
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

पोखरा– कोरोना कालमा सार्वजनिक भएर चर्चा कमाएका तीन आख्यानमाथि छलफल गर्दै यसपालीको पोखरा महोत्सव समापन भयो।

बिना थिङको ‘याम्बुनेर’, दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ र केशव दाहालको ‘मोक्षभूमि’बारे भएको उक्त अन्तिम सत्रमा लेखक शिवानी सिंह थारुले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकी थिइन्।

छलफलमा लेखकहरूले आफ्ना आख्यानभित्रका पात्र, विषयवस्तु, परिवेश र प्रसंगहरूबारे अनुभव सुनाएका थिए। लेखक बिना र दुर्गालाई शिवानीले कथा लेखनकै सेरोफेरोमा रहेर जिज्ञाशा राखिन् भने ‘ऐतिहासिक–उपन्यास’ विधामाथि केशवको रिजर्भेसनबारे बुझ्ने प्रयास गरिन्।   

सत्रको सुरुवात भने कोरोना कालमा पुस्तक निकाल्दाको अनुभूतिबारे लेखकत्रयले बोलेका थिए। ‘यस्तो बेला झन् किताब छाप्नुपर्छ भन्ने लागेर निकालेको हो,’ केशवले भने, ‘किनभने प्रकृति र जीवन गतिमा चल्छ। गति छैन भने जीवन र मानव सभ्यता छैन। लेख्नु, पढ्नु, चल्नु भनेकै जीवनको गति हो। गतिशील हुँदा झन् मज्जा आयो मलाई।’

बिनाले चाहिँ कन्टेन्ट बलियो छ भने कृति सार्वजनिक गर्नलाई जुनकुनै समय उपयुक्त हुने बताइन्। ‘राम्रो लेखिएको छ भने पाठकले खोजिवरी पढ्छन्,’ उनले भनिन्, ‘मलाई आफ्नो अक्षरमा विश्वास थियो त्यसैले जहिले आए पनि फरक पर्दैन भनेर साहस गरेर ल्याएको हुँ।’

चर्चादेखि अलि अप्ठ्यारो लाग्ने भएकाले यो समय आफ्ना लागि उपयुक्त नै भएको आशय दुर्गाले व्यक्त गरिन्। उनलाई खिन्न लागेको एउटै कुरा चाहिँ आफ्नो पुस्तक लक्षित वर्गसम्म नपुगेकोमा रहेछ। भनिन्, ‘ई–बुकमा सर्कुलेसन राम्रो भयो। किताबसम्बन्धी बहस भर्चुल्ली हुँदा त्यो झनै डेमोक्रेटिक भइदियो, सबैले हेर्न पाए। तर, जसले पढिदिऊन् भन्ने सोचेकी थिएँ, तिनिहरूसम्म चाहिँ किताब पुग्न सकेन।’ 

गैरआख्यानबाट आख्यानमा आएका केशवले आख्यानमा काम गर्ने आफ्नो पुरानो तिर्सना मेटिएको खुशी साटे। ‘आख्यानमा काम गर्ने भोक थियो,’ उनले प्रस्ट्याए, ‘यसमा उड्न पाइन्छ, भावनासँग खेल्न पाइन्छ, आफ्नै संसार निर्माण गर्न पाइन्छ। यो तिर्सनामा बग्दै गर्दा संजोगले प्रकाशकसँग भेट भयो।’ नयाँ, अलग तर आफ्नै माटोको संसार बनाउने हेतुले सिंजा क्षेत्रको खसआर्य संन्दर्भमा किताब रचेको जानकारी दिए। 

यसअघि ‘छुकी’ कथा संग्रह निकालिसकेकी बिनालाई फेरि किन यही विधा रोजेको भनेर पनि सोधिएको थियो। उनले आफ्नो विषयवस्तुअनुसार स्वरुप छनोट गरेको बताइन्। ‘कस्तो स्वरुपमा जँच्छ भन्ने कुरा विषयवस्तुले निर्धारण गर्छ,’ उनले भनिन्, ‘आफ्ना कुरा छोटोमा भन्नु छ भने म कविता फर्ममा जान्छु। विषयवस्तुले कति एरिया कभर गर्न खोजेको छ, त्यही अनुसार स्वरुप निर्धारण हुने त हो।’

पहिलो कथा संग्रह निकालेकी दुर्गाले यसरी संग्रह नै निकालौंला भनेर खासै योजना नबनाएको सुनाइन्। ‘एक स्टेजमा पुगेपछि संग्रह नै बन्छ कि भन्ने भयो,’ उनले प्रस्ट्याइन्, ‘सामान्यतया मान्छेलाई किताब निस्किने कुरा ओहो भन्ने लाग्छ। उपन्यास भएको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला। तर, यो किताब निकाल्दा  चाहिँ त्यस्तो भएन।’ 

केशवले आफ्नो पुस्तक ऐतिहासिक उपन्यास नभएको जिकिर गर्ने गरेका छन्। यसबारे उनले कार्यक्रममा वर्णन गरे। उनी कथा र इतिहासलाई फरक टोकरीमा राख्नु उचित ठान्दा रहेछन्। ‘कथा कथाजस्तै हुन्छ, कथाजस्तो इतिहास, इतिहासजस्तो कथा हुँदैन,’ उनले भने, ‘इतिहासलाई कथाजस्तो बनायौं भने के होला? मान्छेले ठीक इतिहास बुझ्दैनन्। इतिहास सत्यको व्याख्या हो। कथा कल्पना हो।’ 

उनले ऐतिहासिक कथा वा ऐतिहासिक उपन्यास भन्ने विधाकै पुनःव्याख्या आवश्यक रहेको बताएपछि शिवानीले यसबारे पछि पनि लामै विमर्श गर्ने भन्दै प्रसंग मोडिन्। त्यसपछि उनले बिनालाई तामाङ समुदायको सेरफेरोमा लेखिएको उनको कृतिबारे सोधिन्। ‘मैंले लेखेका कथा मअघि कसैले लेखिदिएको भए म यो किताबै लेख्दिनँ थिएँ,’ उनले भनिन्, ‘तामाङ समुदायको कथा नभेटेरै मैले लेखेको हो। टोनी मरिसनले भनेका थिए– तिम्रो समुदायको कथा कसैले लेख्दैन भने तिमी आफैं लेख, कसैले पढ्दैन भने तिमी आफैं पढ। मंैले त्यही गरेको हो।’

कथा लेख्दै जाँदा लेखनलार्ई लिएर आफ्ना बुझाइ कसरी फेरिँदै गए भन्नेबारे दुर्गाले अनुभव सुनाइन्। ‘पहिले मलाई कलममा भयंकर पावर छजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘कथामार्फत् भयंकर सन्देशहरू दिन खोज्थेँ। अर्को स्टेजमा आइपुग्दा कलमको पावर सिमित रैछ भन्ने लाग्यो। अनि कथाहरू परिमार्जन गर्न थालेँ। कथामा सन्देश लाद्दा खिरमा नुन हालेजस्तो हुँदो रैछ भन्ने बुझेँ।’ 

केशवले आफ्नो पुस्तकभित्रका सिंजा समाज, धर्मसभा, दासमुक्तिका प्रसंगहरूबारे पनि चर्चा गरे। सुदूर अतितको प्रसंग ल्याएर आफूले दास व्यवस्थाको विषयवस्तुलाई गहिराइबाटै बुझाऊन खोजेको बताए। दुर्गाले चाहिँ युवा वयका किशोरीको जीवन र मनोविज्ञान समेट्न खोजेको बताइन्। ‘यो पुस्तकबाट मंैले एउटा उमेर समूहको संघर्ष, पिडा, भोगाइ उर्तान खोजेकी हुँ,’ उनले भनिन्, ‘नयनतारा, अनुराधा, ठूली आमा, मनमाया जस्ता पात्र छन्, जुन अलि फरक प्रस्पेक्टिभबाट आएका छन्।’  

उनले महिलाको यौनिकताको कुरालाई थोरै भए पनि सामान्यिकरण गर्न खोजेको बताइरहँदा बिनाले पनि दमित अवस्थामा रहेका महिलाले भारी बिसाउनुपर्ने बिम्ब प्रयोग गर्दै आनी पेमाको चरित्रबारे प्रस्ट पारिन्। ‘लेखक यथास्थितिवादमा रुचाउने मान्छे होइन,’

बिनाले भनिन्, ‘लेखक हुनु भनेको वर्तमानमा उभिनु मात्रै होइन भविष्यतर्फ लम्किनु पनि हो। आनी संस्कृति बाहिरबाट जति सुन्दर देखिन्छ त्यहाँभित्र पनि विविध समस्या छन्। हिमालपारि पठारको कथा कसले लेख्ने, कसले महसुस गर्ने त? लेख्नुपर्छ भन्ने लाग्यो। आनीहरु आध्यात्मिक रुपमा बस्न चाहन्छन् भन्ने ठीक छ, दमित छन् भन्ने बाहिर निस्किनुपर्छ।’ 

कोरोना कालपछि कस्ता कथा लेखिनुपर्छ भन्नेबारे तीनै जना लेखको जवाफ सुन्दर मानिएको थियो। केशवका अनुसार मानव सभ्यताले लामो संघर्ष गरिसकेको र अब त्यो संघर्षको युग सकिएर प्रेमको युग आएको हुँदा प्रेमको कथा लेख्नुपर्ने बताए। बिनाले चाहिँ अब निम्न मध्यम वर्ग, जो सबैभन्दा मारमा परेका छन्, उनीहरूको मनोविज्ञानलाई समेटेर लेख्नुपर्ने बताइन्। 

यसमै दुर्गाले थपिन्, ‘जे–जे आइपरे पनि मान्छेले खासै केही सिक्दैन रैछ। हाम्रो सिकाइ दिगो हुँदैन रैछ। हामी खोक्रा रहेछौँ। हामीभित्रको खोक्रोपन, हाम्रो समाजको सर्पोट सिस्टमको कमजोरी, लिडरसिपको कमजोरी र विशेषतः अब खोक्रोपनको कथा आउनुपर्छ भन्ने लाग्छ।’

 

प्रकाशित: Dec 30, 2020| 16:14 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।