काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकेको बताएका छन्।
काठमाडौं महानगरको वडा–३१ कार्यालय भवन बुधबार शिल्यान्यास गर्दै शाक्यले चुनावका बेला गरिएका केही प्रतिवद्धता पूरा गर्न नसकिएको बताए।
‘धेरै काम गरेका छौं। केही काम गर्न सकिएन। त्यो मध्ये एक हो, मोनोरेल। चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ। चक्रपथ विस्तार भैनसकेकाले त्यो काम गर्न सकेनौँ,’ उनले भने, ‘धरहरा बनाउने भनेका थियौँ। धरहरा निर्माण सम्पन्नको चरणमा छ। दरबार हाइस्कुल सम्पन्न भयो। रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो। काष्ठमाण्डप निर्माण सम्पन्नको चरणमा छ।’
चुनावअघिको काठमाडौँको बाटो र अहिलेको बाटोमा धेरै फरक भइसकेको उनले दाबी गरे। धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उनको तर्क छ। सरोकारवाला निकायको समन्वयको अभावले पनि केही समस्या भएको उनले बताए। ‘हामी प्रतिवद्ध छौँ, हामी अरुले नगरेका काम पनि हाम्रो खर्चमा गरेर महानगरवासीका गुनासा समाधान गर्ने प्रयासमा लाग्नेछौँ,’ उनले भने।
मेयर शाक्यले शिलान्यास गरेको वडा भवन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी अघि बढाउन आग्रह समेत गरे। उनले काठमाडौँ मानगरपालिकाले जहाँ सार्वजनिक जग्गा भेट्यो, त्यहाँ नयाँ निर्माण गर्दै अघि बढेको पनि बताए।