सोमबार, भदौ २२, २०८३

बेनी हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२ माघ २९ गते २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख ४ हजार कित्ता सेयरको बाँडफाँट सम्पन्न गरिसकेको छ।

यस्तै, कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता सेयर छुट्याइएको छ। बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा भदौ २५ गतेसम्म र पर्याप्त आवेदन नपरे ढिलोमा असोज ५ गतेसम्म रहनेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, मेरोसेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

प्रकाशित: Sep 07, 2026| 10:02 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्