छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ
बास्ना त तिमीले चपाएको चुइगम हो
तीतो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ ।
प्रस्तुत सेयर हुन् गजलकार प्रदीप रोदनका। आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार आयोजित शुभारम्भ साँझमा रोदनले गजल वाचन गरिरहँदा फेस्टिभलको माहोल तात्दै थियो। सराङकोटस्थित सराङकोट माउन्टेन रिसोर्टमा आयोजित शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्यो।
मंगलबार सुरु हुने फेस्टिभलको औपचारिक उद्घाटनअघि गजल महफिलको कार्यक्रम राखिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ। रोदनले सुवेदीसँग संवादसँगै १० भन्दा बढी गजल वाचन गरे।
साहित्य साधना प्रतिष्ठान गोरखाका महासचिव प्रदीप रोदन दमदार गजल र प्रस्तुतिले चर्चित छन्। नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका उनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक एवम् समसामयिक विषयका विविध गजल सुनाए।
कार्यक्रममा र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए। सांस्कृतिक एवं पर्यटकीय सहर पोखरालाई साहित्यका माध्यमबाट पनि चिनाउनुपर्छ भनेर आफूहरुले फेस्टिभल आयोजना गरेको बताए।
यसमा सहयोग गर्ने गण्डकी प्रदेश एवम् आइएमईलगायत विभिन्न सङ्घसंस्थाप्रति पनि उनले आभार प्रकट गरे। ‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो।’
फेस्टिभलको यो संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन्। भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति छैन। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण भइरहेको छ। साथै डिसहोमको सरोकार टिभीबाट पनि फेस्टिभलका सबै सत्र हेर्न सकिनेछ। नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा छन्।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको आयोजकले दाबी गरेको छ। ‘
जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ। दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आइएमईले प्रायोजन गरेको छ।