काठमाडौं– भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण अन्तिम चरणमा पुगेको छ। भ्याक्सिन उत्पादन पनि तीव्र गतिमा भइरहेको छ।
यही जनवरीबाट भ्याक्सिन लगाउन सुरु गर्ने सरकारको तयारी छ।
नेपाल आफैंले भ्याक्सिन बनाइरहेको छैन। तर, आयातको तयारी भने उसले पनि गरिरहेको छ। छिमेकमै भ्याक्सिन बनिरहेकोले त्यसमा नेपाल सरकारले चासो देखाएको छ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय भ्याक्सिन निर्माता कम्पनी र सरकारी अधिकारीहरुसँग आफूले कुराकानी गरेको बीबीसीलाई बताएका छन्।
बेलायत, अमेरिका, क्यानाडालगायत कैयौं देशमा लाखौं मानिसले भ्याक्सिन लगाइसकेका कारण नेपालमा पनि भ्याक्सिन कहाँबाट र कसरी ल्याउने भन्ने चर्चा र तयारी बढेको छ।
राजदूत आचार्यले भारतमा कोरोना भ्याक्सिन बनाइरहेको सीरम इन्स्टिच्युटका एक वरिष्ठ अधिकारी र भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तसँग कुराकानी गरेको बताएका छन्। सीरम इन्स्टिच्युटले बेलायती कम्पनी एस्ट्राजेनेकासँग मिलेर अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादन गरिरहेको छ। यो भ्याक्सिनको प्रभावकारिता ७० देखि ९० प्रतिशत भएको दाबी गरिएको छ।
राजदूत आचार्यले भने, ‘सीरम इन्स्टिच्युटको उत्पादन क्षमता निकै धेरै छ। यसले नेपालको आवश्यकता पूरा गर्न सक्छ। हामी सीरमसँग कुराकानी गरिरहेका छौं। उनीहरु नेपाललाई भ्याक्सिन उपलब्ध गराउन सकारात्मक छन्।’
गत महिना काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव हर्ष श्रृंगलाले नेपालको आवश्यकता भारतको प्राथमिकता हुने बताएका थिए।
राजदूत आचार्यका अनुसार सीरमका प्रमुख अमिताभ कान्तले नेपाललाई भ्याक्सिन उपलब्ध गराउने कुरालाई कम्पनीको प्राथमिकता दिने कुरामा प्रतिवद्धता जनाएका छन्।
सुरुमा २० प्रतिशत नेपालीलाई भ्याक्सिन उपलब्ध गराउने सरकारी योजना छ। यो पनि दुई चरणमा हुनेछ। पहिलो चरणमा ३ प्रतिशत र अर्को चरणमा १७ प्रतिशतलाई भ्याक्सिन लगाइनेछ। नेपालको प्राथमिक आवश्यकता भारतले पूरा गर्ने अपेक्षा रहेको राजदूत आचार्यले बताए।
भारतमा उत्पादन हुने भ्याक्सिन सस्तो हुने र आपूर्ति पनि सजिलो हुने भएका कारण नेपालको प्राथमिकतामा पर्ने जानकारहरु बताउँछन्। सीरमले बनाएको भ्याक्सिनको मूल्य १५ सय रुपैयाँसम्म पर्ने अपेक्षा गरिएको छ। सीरमको भ्याक्सिन कोभशिल्डको अन्तिम परीक्षण भइरहेको छ। कम्पनीले आपतकालीन प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ।
हैदराबादस्थित भारत बायोटेकले पनि भारतीय चिकित्सा अनुसन्धान परिषद्को सहयोगमा कोभ्याक्सिन नामक कोरोना भ्याक्सिन बनाइरहेको छ। यो भ्याक्सिन क्लिनिकल ट्रायलको अन्तिम चरणमा छ।