महोत्तरी- ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरवासको जग्गाको लालपुर्जा पाएपछि दंग छिन्, महोत्तरी गौशाला नगरपालिका–१०, बटौवाकी ७० वर्षीया दुखनीदेवी महतो। भन्छिन्, ‘हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?’ अर्थात् मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे र ?
लालपुर्जा पाउने आशा मारेकी उनले जग्गाकाे लालपुर्जा पाउँदा उनका आँखामा खुसीका आँसु छल्किएका थिए।
दुखनीसहित गौशाला नगरपालिका–१०, ११ र १२ का १४० घरवासीले आफ्नो घडेरीको जग्गा धनी प्रमाणपुर्जा पाएका छन्।
साविकको पञ्चायतीकालमा १ नम्बर बहादुरगञ्ज र २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनायता २०४९ को स्थानीय निर्वाचनमा लक्ष्मीनियाँ गाउँ विकास समिति भनिएको ठाउँ हाल गौशाला नगरपालिकाको १०, ११ र १२ नम्बर वडामा समेटिएका छन्।
वर्षौंदेखि आफ्नो नाउँमा जग्गा पनि छ भन्ने अनुभूति गर्न नपाएका उनीहरूका लागि प्राप्त लालपुर्जा ठूलो खुसीको विषय बनेको छ।
‘बाबु जोहर अली लालपुर्जा हेर्ने धोकोमै जानुभयो, म पनि जीवनको अन्तिमकालमा टेकीसकें, जीवनमा यस्तो खुसी पहिलो पटक महसुस गर्दैछु,’, गौशाला–१० कै ७८ वर्षीय अब्दुल रहमान चुरौटेले खुसीका आँसु पुछ्दै भने, ‘अब हाम्रो घर आफ्नै नाउँको जग्गामा भयो।’
नापी कार्यालय महोत्तरीले दिएको लालपुर्जाको जग्गाधनी महलमा अब्दुल रहमान चुरौटे र उनकी पत्नी जमनेशा खातुनको नाम उल्लेख छ।
पुस्तौंपछि आफ्नो घर रहेको जग्गाको लालपुर्जा पाउँदा उनीहरू दंग छन्।
‘बाजे, बाबु यसै ठाउँमा सिद्धिए, उनीहरूले लालपुर्जा हेर्न पाएनन्’, सैफ्ल खातुनले भनिन्, ‘जे होस्, अहिले हामीले पायौं, अमूल्य कुरो पाएको जस्तो खुसी छ।’
नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेशकुमार रशिकका अनुसार भोगको आधारमा गरेको नापीपछि वितरण गर्ने लालपुर्जामा घरमूली पति, पत्नी दुवैको नाउँ राख्ने गरिएको छ।
उनले भने, ‘यसले महिलालाई मेरो पनि घरको सम्पत्तिमा स्वामित्व छ भन्ने स्वाभिमान हुँदो रहेछ ।’
मुख्य घरमूली पति वा पत्नीको मृत्यु भइसकेको रहेछ भने दुवैमध्ये जो जीवित छन्, उनकै नाउँमा जग्गाधनी प्रमाणपुर्जा बनाइने गरिएको रशिकले बताए।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले अब कोही जग्गाविहीन नरहने बताएका छन्। ‘हामीले भूमि आयोगसँग सम्झौता गरिसकेका छौं’, उनले भने, ‘यही आर्थिक वर्षभित्र सबै अव्यवस्थित बसोबासी र सुकुम्वासीको व्यवस्थापन गरी सक्नेछौं। लालपुर्जा पाउनेमा मुस्लिम, कोइरी, नेवार र तत्मासहित आर्थिकरूपले पिछडिएका समुदाय छन्।
सबै परिवारलाई प्रदान गरिएको लालपुर्जाअनुसारको जग्गा जम्मा पाँच हेक्टर क्षेत्रफल रहेको नापी कार्यालय महोत्तरीले जनाएको छ।
घरवासी जग्गा नापी गरेर खडा गरेको स्रेस्ताका आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै आएको कार्यालयले जनाएको छ।
यसअघि जिल्लामा कायम रहेका (२०६४ सालअघि) ७६ गाविस र एक नगरपालिका क्षेत्रका सबै वस्तीमा घरवासीलाई जग्गा नापी गरेर जग्गाधनी प्रमाणपुर्जा दिने गरिएको प्रमुख नापी अधिकृत रशिकले बताए।
चालु आर्थिक वर्षमा ११ वटा पहिलेका गाविस क्षेत्रमा लालपुर्जा वितरण गरिने गरी काममा लागिएको नापी कार्यालय महोत्तरीले जनाएको छ।
लालपुर्जा वितरण गरिनेमा बलवा, किसाननगर, पशुपतिनगर, हाथीलेट, रामगोपालपुर, लोहारपट्टी, भटौलिया, इटहर्वाकट्टी, साँढा, धिरापुर र मनरा छन्। तीमध्ये बलवामा पुस महिनाभित्रै लालपुर्जा वितरण गरिने प्रमुख नापी अधिकृत रशिकको भनाइ छ।
जिल्लामा बाँकी रहेका पहिलेका गाविस क्षेत्रमा आउने आर्थिक वर्षका लागि पनि लालपुर्जा वितरणको पूर्वतयारी अहिलेदेखि नै थालिएको छ। अब यो निरन्तर प्रक्रियाबाट सबै वस्तीलाई समेटिने नापी कार्यालय महोत्तरीले जनाएको छ ।
- गोपालप्रसाद बराल/रासस