काठमाडौं– विभाजनको दिशामा गएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बिहीबार पनि बस्दैछ।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको बैठक बिहान साढे ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्दैछ भने प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा।
दुवै समूहले आज बस्ने केन्द्रीय कमिटी बैठकका लागि विभिन्न एजेन्डा तय गरेका छन्। दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा यसअघि स्थायी कमिटीमा पेस भएका दस्तावेज बाहेक अध्यक्ष दाहालले ४० पृष्ठ लामो प्रत्युत्तरपत्र पेश गर्न लागेका छन्।
आजको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि स्थायी कमिटीमा पेश गरेको ३८ पृष्ठ लामो प्रतिवेदनको प्रत्युत्तर पेश गर्न लागेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
यसअघि सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको ३८ पृष्ठ लामो प्रतिवेदनको मौखिक जवाफ दिएका दाहालले आजको बैठकमा लिखित रुपमा नै ४० पृष्ठको जवाफ प्रस्तुत गर्न लागेका हुन्।
२२ कात्तिकमा नेकपाका बहुमत सचिवालय सदस्यले बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र दिएका थिए। ओलीले २५ गते पाँच पृष्ठ लामो जवाफ दिएपछि नेकपाभित्र आरोप प्रत्यारोप सुरु भएको थियो।
आरोप प्रत्यारोप हुँदै अघि बढेको नेकपामा पछिल्लो पटक ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि औपचारिक रुपमा नेकपा विभाजनमा गएको हो।
यता दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण र आवश्यक निर्देशन दिने तयारी छ।
ओली समूहका केन्द्रीय सदस्य कृष्ण राईले केन्द्रीय कमिटीको अन्तिम रुपरेखा आज सार्वजनिक हुने जानकारी दिए। ‘को मानिस कता छन् र केन्द्रीय कमिटीको आकार के हो भन्नेबारे सम्भवतः आजको बैठकमा फाइनल हुन्छ,’ उनले भने,‘जिल्लाबाट आएका केन्द्रीय सदस्यहरु फर्किनुपर्ने भएकाले उहाँहरुलाई आवश्यक प्रशिक्षणसमेत दिइन्छ।’
७ पुसमा दुवै समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर आफूलाई आधिकारिक, वैधानिक भएको दावी गरिसकेका छन्। नेकपाको आधिकारिकता कसले पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ। उनीहरुले आफू आधिकारिक भएको भन्दै निर्वाचन आयोगमा केन्द्रीय समितिका सदस्यहरुको हस्ताक्षर र निर्णयहरु बुझाइसकेका छन्।
ओली समूहले अहिले कायम रहेको केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै बैठकले पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकेको थियो।
नेकपाको वर्तमान संरचनामा रहेका ४४६ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गर्दै केन्द्रीय सदस्यको संख्या ११ सय ९९ पुर्याएको थियो। त्यस्तै आगामी मंसिर २ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो। यता दाहाल नेपाल समूहको केन्द्रीय कमिटी बैठकले भने केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।
रिक्त हुन आएको अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। बुधबार नै बसेको दाहाल नेपाल समूहका विघटित प्रतिनिधिसभाका सांसदहरुको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता निर्वाचित गरेको थियो। संसदीय दलको नेता निर्वाचित भएपछि अध्यक्ष दाहालले अब संसद पुनःस्थापित गरेर सरकार गठन बताएका थिए।