रसुवा– नेपालको पर्यटकीय गन्तव्य लाङटाङ पदमार्गमा क्रमिकरूपले चहलपहल बढ्न थालेको छ।
कोरोनाका कारण पाहुनाको आगमन बन्द भएपछि सुनसान रहेको यो पदमार्गमा पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेको छ।
असार, साउन र भदौ महिनाबाहेक अन्य समयमा यहाँको मौसम प्रायः सफा रहने, राजधानी काठमाडौंबाट नजिक, अन्य क्षेत्रको तुलनामा कम खर्चमा घुम्न सकिने र प्राकृतिक छटा अवलोकनले मन प्रफुल्ल बनाउने भएका कारण अधिकांश पाहुना रसुवा केन्द्रित हुने गरेका छन्।
रसुवाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका सबै बिद्यालय सञ्चालनमा ल्याएपछि मानिसको मनोबल बढ्न गई पर्यटकको समेत आगमन हुन थालेको पर्यटन व्यवसायीले बताएका छन्।
गोसाइँकुण्ड गाउँपालिका क्षेत्रभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव शून्यमा झरेको स्वास्थ्यकर्मीले बताएपछि पर्यटकीय एवं धार्मिक क्षेत्रमा रहेका सबै होटल तथा लज पुुनः सञ्चालनमा आइसकेको चन्दनबारीका पर्यटन व्यवसायी पासाङयुर्मी तामाङले जानकारी दिए। यस क्षेत्रमा रहेका सयौँ होटल तथा लज पुनः सञ्चालनमा आइसकेका छन्।
यस्तै पवित्र तीर्थ एवं पर्यटकीयस्थल गोसाइँकुण्ड जाने यात्रु पनि फाट्टफुट्टरूपमा ओहरदोहर गर्न थालेको धार्मिक मार्गका होटल व्यवसायीले जानकारी दिएका छन्।
कोभिड–१९ को असरले यस आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म नौ सय ८९ पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको इलाकामा पर्ने लाङटाङ तथा गोसाइँकुण्डको हिमशृङ्खला, कुण्ड तथा ताल, झर्ना र यहाँका जैविक विविधताको अवलोकन गरेका थिए।
गत वर्षको यसै अवधिमा भने १४ हजार नौ सय ३३ पर्यटक आएको अभिलेखबाट देखिँदा कोरोनाको असरले पर्यटकको आगमन सङ्ख्या यस वर्षको पाँच महिनामा ९३ प्रतिशतले कमी भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
यस आर्थिक वर्षमा आएका पर्यटकमा ६६ विदेशी र ९२३ स्वदेशी रहेको निकुञ्जको तथ्यांकले देखाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेवापत लिइने शुल्कको राजश्व भने दुई लाख ३६ हजार तीन सय मात्र प्राप्त भएको छ।
निकुञ्ज क्षेत्रको भ्रमण गर्ने स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति एक सय र विदेशीको हकमा तीन हजार आगमन शुल्क लिने कानूनी प्रावधान छ।
प्रवेश शुल्कवापत गत वर्ष यस अवधिमा तीन करोड १९ लाख ४८ हजार असुली भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए।
यस्तै कोभिड–१९ संक्रमण पत्ता लगाउन नियमितरूपले स्वाब संकलन तथा परीक्षण गराउने काम स्थगन भएपछि समुदायमा भइरहेको डर, त्रास क्रमशः हट्दै गएको देखिएको छ।
जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बिरामी भई उपचारका लागि सम्पर्कमा आएका व्यक्तिको मात्र स्वाब परीक्षण गराइने जानकारी दिए। स्वाब परीक्षण भएपछि मानिसमा उमंग पैदा भई हिँडडुलको चहलपहल बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।
गाउँघरमा ज्वरो, खोकीबेगर लक्षणबिनाका कोरोना सङ्क्रमणबाट आराम भएका व्यक्तिले आफ्ना अनुभवसमेत सुनाउन थालेका छन्।