मंगलबार, भदौ २३, २०८३

सभामुख अग्नि सापकोटाको मुद्दामा पेसी तोकियो

प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटाको मुद्दाको पेसी तोकिएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– प्रतिनिधि सभाको सभामुख अग्नि सापकोटाको मुद्दाको पेसी तोकिएको छ। 

संवैधानिक परिषद् बैठक र नेकपाभित्रको विवाद उत्कर्षमा रहेको बेला सोपकोटाको मुद्दा शुक्रबार पेसीमा चढेको हो। 

सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो। 

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी पत्नी पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। 

सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर रिट, काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी पत्नी पूर्णिमाया लामाले ०६९ मंसिर ७ मा दायर रिट र २०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी संवैधानिक इजलासमा विचाराधीन छ।

लामा हत्यामा सापकोटा र सूर्यमान दोङ संलग्न भन्दै पूर्णिमायाले दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत मिलाइने भन्दै दरपीठ गरेको थियो।

तर, सर्वोच्चको आदेशमा दर्ता गरिएको उक्त मुद्दालाई २०६९ साउनमा मन्त्रिपरिषद्ले तामेलीमा राख्ने निर्णय गरेको थियो।

त्यसपछि मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले ११ मंसिर २०६९ मा अर्को आदेश जारी गरेको थियो।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त मुद्दामा सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन गत असार २५ गते आदेश जारी गरेको थियो।

सर्वोच्चको संवैधानिक इजलास शाखाका अनुसार पूर्णिमायाले सापकोटा र दोङविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएको लिखित उजुरीको प्रतिलिपि आयोगले अदालतलाई पठाइसकेको छ।

आयोगमा पूर्णिमायाको उजुरी १४९२ नम्बरमा दर्ता छ। सर्वोच्चले सापकोटाविरुद्ध परेका मुद्दा र रिटलाई लगाव (एउटैमा समेटेर) गत २५ असारदेखि सुनुवाइ सुरु गरेको थियो।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटालाई मन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै मानव अधिकारवादी संस्थाहरूले रिट दायर गरेका थिए।

पछि सर्वोच्चले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउन अन्तरिम आदेश गर्नु नपर्ने’ भने पनि सापकोटविरुद्धको अभियोगमाथि अनुसन्धान कारबाही अगाडि बढाई त्यसको जानकारी अदालतलाई गराउन परमादेश जारी गरेको थियो।

काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।

पूर्णिमाको रिट यसअघि १९ पटक पेसीमा चढेको थियो भने प्याकुरेललगायतले दायर गरेको रिट ७ पटक पेसीमा चढेको थियो।

 


 

प्रकाशित: Dec 18, 2020| 06:26 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।