काठमाडौं- मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लाको तापक्रम मानइसभन्दा तल झरेको छ।
अत्यधिक चिसो बढेसँगै विभिन्न ठाउँमा धाराको पानी, ताल र खोलासमेत जम्न थालेको स्थानीयले बताएका छन्।
मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम माइनस १७ डिग्री सेल्सियसमा झरेको जिल्ला प्रशासन कार्यालय मनाङका नासु गणेश न्यौपानेले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार मनाङ मिसेङ गाउँपालिकाका ताल जम्न थालेका छन्।
सदरमुकाम चामेमा समेत धाराको पानी जम्न थालेको उनले बताए। बिहीबार राति चामेको तापक्रम माइनस ६ डिग्री थियो।
यस्तै मुस्ताङको लोमान्थाङ छोसेरको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार त्यहाँ धारामा पानी जमेको छ भने तालसमेत जम्न थालेको छ। बिहीबार मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मुगुको ताल्चा विमानस्थल क्षेत्रको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ। केही दिनअघि माइनस ९ सम्म पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए। उनका अनुसार अन्यत्रको तापक्रम पनि माइनसमै झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ। धाराको पानीसँगै तालसमेत जम्न थालेको स्थानीयले बताएका छन् ।
चिसो बढे पनि झरेनन् स्थानीय बेसी
उच्च हिमाली क्षेत्रको तापक्रम माइनस १० भन्दा माथि पुग्दा पनि थोरै मात्रै स्थानीयबासी बेसी झरेका छन्। अघिल्ला वर्षहरुमा ८० देखि ९० प्रतिशत स्थानीय उच्च हिमाली क्षेत्र छोडेर बेसी झर्ने, पोखरा र काठमाडौं पुगेर बस्ने, व्यापार गर्ने गर्थे।
यसपटक कोरोना भाइरसको त्रासका कारण अधिकांशले आफ्नो बसोबास क्षेत्र छाडेका छैनन्। मनाङको नार्फाभूमि लगायतका क्षेत्रका १० देखि २० प्रतिशत मात्रै स्थानीय बेसी झरेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले नेपाल समयलाई जानकारी दिइन्।
चिसो बढेसँगै अघिल्ला वर्षमा मुस्ताङको लोमान्थाङ गाउँपालिका, लोभेकरदामोदर कुण्ड गाउँपालिकाका ८० प्रतिशत ब्यक्ति बेसी झर्ने गरेका थिए । केही व्यक्ति व्यापार र बसाइका लागि काठमाडौं र पोखरासम्म पुग्ने गरेका थिए।
यस वर्ष कोरोनाको डरले १५ देखि २० प्रतिशत स्थानीय मात्रै बेसी झरेको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी पौडेलले बताइन् । पोखरा र काठमाडौं अत्यन्त कम ब्यक्ति पुगेको उनको भनाइ छ।
जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लाको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय पनि बेसीसम्म मात्रै झरेका छन्। उनीहरु कोरोनाको त्रासका कारण सहर नपसेको जिल्लाका अधिकारीहरुले बताएका छन्।