काठमाडौं- काठमाडौं उपत्यकामा ह्वात्तै चिसो बढेको छ । निरन्तर घटेको तापक्रमसँगै चिसो ह्वात्तै बढेको हो ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.६ डिग्रीमा झरेको छ। यो तापक्रम यो वर्षकै सबैभन्दा कम हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा २.२ डिग्री रेकर्ड भएको थियो । त्यसपछि ६ः३० बजे गरिएको मापनमा अनुसार तापक्रम २ डिग्री थियो भने ८ः४५ बजे गरिएको मापनमा तापक्रम अझै घटेर १.६ डिग्रीमा आइपुगेको हो ।
काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटेको छ। आइतबार ४.५ डिग्री, सोमबार ४ डिग्री, मंगलबार ३ डिग्री, बुधबार २.८ डिग्री, बिहीबार २.२ डिग्री र आज १.६ डिग्री मापन गरिएको छ ।
काठमाडौंको मात्रै नभइ देशैभरको तापक्रममा गिरावट आएको मौसमविद् शाक्यले जानकारी दिइन् । उनका अनुसार डिसेम्बर महिना भरी निरन्तर तापक्रम घट्न सक्ने छ ।
न्यूनतम तापक्रम मात्रै नभइ अधिकतम तापक्रम समेत घट्दै गएका कारण देशैभर चिसो बढेको छ । चिसोबाट जोगिने उपाय अपनाउन महाशाखाले सर्वसाधरणसँग अपिल गरेको छ ।