काठमाडौं- मन्त्रिपरिषद्को आज बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धीको अध्यादेश फिर्ता लिने निर्णय गरेन।
बैठकमा अध्यादेश फिर्ता लिने निर्णय हुने अपेक्षा गरिए पनि त्यसबारे छलफल समेत नभएको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री अध्यादेशबारे माैन रहेका थिए। ‘प्रधानमन्त्रीले अध्यादेशबारे एक शब्द पनि उच्चारण गर्नु भएन,’ उनले भने।
बैठकअघि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएकाे थियाे। भेटमा दाहालले आजको बैठकबाट अध्यादेश फिर्ता लिने निर्णय गर्न अनुरोध गरेका थिए।
बुधबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।
अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ।