जनकपुरधाम- महोत्तरीको मनरा सिस्वा नगरपालिकामा जनता समाजवादी पार्टीका स्थानीय नेता विनोद गामीमाथि जबरजस्ती अपहरण र करणीको आरोप लागेको छ।
गामीमाथि छिमेकी बालिकालाई अपहरण गरी जबरजस्ती करणीको प्रयास एक महिलाले लगाएकी छन्। आरोपी गामी मनरा सिस्वा नगरपालिकाका उपप्रमुख रमिता प्रधानको श्रीमान हुन्।
बुधबार साँझ मनरा सिस्वा नगरपालिका–६ स्थित सरपल्लोबाट बेपत्ता भएकी १४ वर्षीया बालिका करिब ३ घण्टापछि हात, खुट्टा बाँधेको अवस्थामा गामीको घरको शौचालयमा बन्द गरिएको अवस्थामा भेटिएकी थिइन्। गामीकै शौचालयमा बालिका बाँधिएको अवस्थामा भेटिएपछि बालिकाकी आमाले गामीले अपहरण गरी करणीको प्रयास गरेको आरोप लगाएकी हुन्।
साँझ ६ बजेदेखि बालिकालाई खोजतलास गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयबासीहरुले खोजतलास गर्दै जाँदा गामीको घर नजिक बालिकाको एउटा चप्पल देखेपछि स्थानीयहरु प्रहरीको टोलीसहित उनको घर पुगेका थिए।
बालिका साँझ ६ बजे साथीको घरबाट आफ्नो घर आइरहेको बेला विनोद गामीले शौचालयमा लगेर जबरजस्ती करणीको प्रयास गरेको पिडित बालिकाकी आमाले आरोप लगाइन्। उनले आफ्नो परिवारलाई गाउँबाट उठिबास गराउन विनोद गामीले यस्तो षड्यन्त्र रचेको आरोप लगाएकी छन्।
उता पीडक भनिएका गामीले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न यस्तो षड्यन्त्र गरिएको दाबी गरेका छन्। उनले प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहासँग आफूहरुको पहिलादेखि नै दुश्मनी रहेकोले उनकै उक्साहटमा आफुमाथि यस्तो गलत आरोप लगाइएको दाबी गरे। उनले घटनामा आफ्नो संलग्नमा रहेको प्रमाणित गर्न चुनौती दिए।
पीडकलाई पक्राउ नगरेको भन्दै स्थानीयले इलाका प्रहरी कार्यालय बलवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्रसिंह बिरुद्ध नाराबाजी गर्नुका साथै बिहीबार बिहान जलेश्वर–बर्दिवास सडक खण्डमा टायर बालेर सडकसमेत अवरुद्ध गरेका थिए।
घटनाबारे सत्यतथ्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अहिले नै घटनाको विषयमा बोल्नु उचित नहुने प्रहरीको भनाइ छ।