बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकद्वारा सेयर धितो र ओभरड्राफ्ट कर्जामा कडाइ 

राष्ट्र बैंकद्वारा सेयर धितो र ओभरड्राफ्ट कर्जामा कडाइ 

नेपाल राष्ट्र बैंकले सेयर र ओभरड्राफ्ट कर्जामा कडाइ गरेको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर र ओभरड्राफ्ट कर्जामा कडाइ गरेको छ। 

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरी सेयर धितोमा कडाइ गरेको हो।

अबदेखि बैंकले सेयर धितोमा कर्जा प्रवाह गर्दा लगातार तीन वर्षसम्म कम्पनी नोक्सानीमा गएको छ भने सो कम्पनीको सेयर धितोमा कर्जा प्रवाह गर्न पाइने छैन। 

त्यस्तै कम्पनी व्यावसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष नभएका संस्थाको सेयर, तीन वर्षदेखि साधारण सभा नगरेका कम्पनीको सेयर र २५० दिनको कारोबार मूल्य नभएका कम्पनीलाई सेयर कर्जा दिन पाइने छैन। 

केही समयअघि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको सीमा नै घटाउने संकेत गरेको थियो। त्यसको विरोध भएपछि अन्य बाटो अपनाएर कडाइ गरिएको छ। 

साथै सेयर धितोमा कर्जा प्रवाह गर्दा ऋण दिने संस्थाले कुन कम्पनीको सेयरमा कर्जा दिएको त्यसको मूल्य, आम्दानी अनुपात, बुक भ्यालु, लाभांश इल्ड, लाभांश भुक्तानी अनुपातजस्ता आधारभूत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्थासमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने छ।

यसैगरी अबका दिनमा ऋणीको नाममा रहेको सेयर रोक्का राखेपछि मात्र कर्जा प्रवाह गर्न पाइने भएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि लिमिट दिएर अग्रिम कर्जा प्रवाह गर्दै आएका थिए।

त्यस्तै अबदेखि व्यक्तिले पनि ५० लाखभन्दा बढी ओभरड्राफ्ट कर्जा लिन पाउने छैनन्। 

ऋणीले विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ५० लाख रुपैयाँभन्दा बढी ओभरड्राफ्ट कर्जा लिएको भएमा २०७८ असार मसान्तसम्म यसलाई ५० लाख रुपैयाँको सीमाभित्र झारिसक्नुपर्ने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

प्रकाशित: Dec 17, 2020| 06:00 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्