काठमाडौं– नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको १७ मंसिरको निर्णयले अनुमति दिएको निगमले बुधबार जानकारी गराएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम पनि राष्ट्रिय ध्वजावाहक निगमले गर्दै आइरहेको छ।
भर्खरै मात्र निगमले १० वर्षे व्यावसायिक योजना तयार पारेको छ। उक्त प्रतिवेदनमा आगामी तीन वर्षभित्र निगमलाई नाफामा लैजाने, अन्तर्राष्ट्रिय उडानको लागि गन्तव्य थप्नेलगायत योजना समेटिएको छ।