बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विश्व बैंकको अनुमानविपरीत झन्डै २० अर्बले बढ्यो रेमिट्यान्स 

विश्व बैंकको अनुमानविपरीत झन्डै २० अर्बले बढ्यो रेमिट्यान्स 

अघिल्लो वर्षको नौ महिनामा भन्दा कोरोनाकालको नौ महिनामा झन्डै तीन प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ।
 |  सोमबार, मंसिर २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २९, २०७७

काठमाडौं– विश्व बैंक, नेपाल राष्ट्र बैंक र वैदेशिक रोजगार विकास बोर्डको आँकलन विपरीत नेपालमा कोराना महामारीका बेला रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। 

तीनवटै संस्थाले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र धराशयी हुँदा रेमिट्यान्स आप्रवाहमा कमी आउने प्रक्षेपण गरेका थिए। 

विश्वभर कोरोना प्रभावका कारण कतिपय कम्पनी बन्द हुँदा रोजगारी गुमाएर घर फर्कने नेपालीको संख्या बढ्ने भएकाले रेमिट्यान्समा पनि असर पर्ने अनुमान ती संस्थाको थियो।

तर अघिल्लो वर्षको नौ महिनामा भन्दा कोरोनाकालको नौ महिनामा झन्डै तीन प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ।

गत माघदेखि असोजसम्मको नौ महिनामा ६ खर्ब ८६ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.९९ प्रतिशत अर्थात् १९ अर्ब ९६ करोड रुपैयाँले बढी हो। 

२०७५ माघदेखि २०७६ असोजसम्म ६ खर्ब ६६ अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
यसरी रेमिट्यान्स बढ्दा राष्ट्र बैंकका अधिकारी नै आश्चर्यमा परेका छन्।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट रेमिट्यान्समा कोभिड–१९ को असर नपर्नु आश्चर्यजनक रहेको बताउँछन्। 

उनले भने, ‘हामीले कोरोनाकालमा रेमिट्यान्स आप्रवाहमा कम्तीमा १० प्रतिशत घट्ने अनुमान गरेका थियौं। तर रेमिट्यान्स बढेको छ।’

विदेशबाट हुन्डीमार्फत कारोबार बन्द भएपछि औपचारिक माध्यमबाट रकम पठाउनेको संख्या बढ्दा रेमिट्यान्स आप्रवाहमा असर नपरेको राष्ट्र बैंकको अनुमान छ। भट्टले यसबारे राष्ट्र बैंकले विस्तृत अध्ययन गर्ने जानकारी दिए। 

नेपाल रेमिट्यान्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेल पनि औपचारिक माध्यमबाट रकम आउँदा रेमिट्यान्स बढेको बताउँछन्। 

उनी भन्छन्, ‘रेमिट्यान्समा कोरोनाको प्रभाव नपर्नुमा मुख्य दुई कारण छन्– पहिलो, कोरोनाको कारण हुन्डी कारोबार ठप्प भयो। अर्कोतर्फ वैदेशिक रोजगारबाट आउने नेपालीले विदेशमा सामान किन्न पाएनन्। रकम सीधै पठाए।’ 

सन् २०१९ मा राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत छ। 

कसको अनुमान कति थियो?

विश्व बैंकले सन् २०२० मा नेपालको रेमिट्यान्समा २० प्रतिशतले कमी आउने प्रक्षेपण गरेको थियो। त्यसपछि विश्व बैंकले अप्रिलमा १२ प्रतिशतले र अक्टोबरमा १४ प्रतिशतले रेमिट्यान्स आप्रवाह कमी हुने प्रक्षेपण गर्याे। 

राष्ट्र बैंकले पनि कोभिड १९ का कारण रेमिट्यान्स आप्रवाहमा १० प्रतिशतले कमी आउने आँकलन गरेको थियो। 
वैदेशिक रोजगार विकास बोर्डले गत वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनमा रेमिट्यान्समा कोभिड–१९ ले २० प्रतिशत प्रभाव पर्ने उल्लेख छ। 

कोरोना महामारीका कारण ती देशबाट कम्तीमा पनि चार लाख नेपाली रोजगारी गुमाएर फर्कने बोर्डको प्रतिवेदनमा उल्लेख छ। बोर्डका अनुसार १३ लाख ४८ हजार ८७२ नेपाली खाडी मुलुकमा कार्यरत छन्। 

नेपाल विश्वमा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देशको सूचीमा २३ औं स्थानमा छ। मुलुकमा भित्रिने कुल रेमिट्यान्सको ६९ प्रतिशत रकम खाडी मुलुकबाट आउँछ। 
 

प्रकाशित: Dec 14, 2020| 11:58 सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्