काठमाडौं– विदेशी मुद्रामा लिएको ऋण अब नेपाली मुद्रामा पनि तिर्न सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै विदेशी मुद्रामा ऋण लिएका कम्पनीहरुले पनि नेपाली मुद्रामा नै ऋण तिर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
यो व्यवस्थाले विदेशी परिवर्त्य मुद्रामा लिएको ऋण भुक्तानीमा सहज हुनेछ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा यस्तो व्यवस्था गर्ने जनाएको थियो।
राष्ट्र बैंकले कोभिड–१९ का कारण आफ्नो व्यवसायमा समस्या पर्न गई विदेशी मुद्रा आम्दानी गर्न नसकेका कम्पनीहरुलाई सहुलियतस्वरुप यो सुविधा उपलव्ध गराएको हो। विशेषगरी पाँचतारे होटल, हाइड्रोपावर लगायतले विदेशी मुद्रामा ऋण लिएका छन्।