काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (सोमबार) सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ।
प्रदर्शनको अघिल्लो दिन सभापति शेरबहादुर देउवाले भौतिक दूरी कायम राख्दै प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन्।
देउवाले प्रदर्शनलाई भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन आग्रह पनि गरेका छन्।
उनले प्रर्दशनमा सहभागी हुने कार्यकर्तालाई भनेका छन्, ‘कोरोना महामारीको समयमा हुन लागेको प्रदर्शनमा भौतिक दूरीका साथै मास्कको प्रयोग अनिवार्य गर्नुहोला।’
देउवाले प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएकोलाई सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्दै भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेको बताएका छन्।
‘सरकारको कार्यशैलीले जनतामा वितृष्णा फैलिएको छ,’ देउवाले भनेका छन्, ‘अतः नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीब्र दबाब दिंदै जनताको वितृष्णालाई सम्बोधन गर्न सशक्त ढंगले अघि बढ्नु छ।’
त्यसकै शुरूवात स्वरुप प्रदर्शन गर्न लागिएको देउवाले बताएका छन्।