काठमाडौं- बेलायती राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेगन हाल कार्यरत राजपरिवारका सदस्य नरहेको स्पष्ट पारेका छन्। बेलायत फर्किए पनि उनीहरूले राजपरिवारको प्रतिनिधिका रूपमा कुनै औपचारिक कार्यक्रममा सहभागी हुन नपाउने भएका छन्।
राजाको तर्फबाट दरबारका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले पठाएको पत्रमा ह्यारी र मेगनलाई अझै पनि ‘एचआरएच’ अर्थात् राजकीय उच्चताको उपाधि प्रयोग गर्न नपाउने र निजी नागरिककै रूपमा रहने उल्लेख गरिएको छ।
पत्र ह्यारीको टोलीसँगै सरकारी निकाय, सैन्य अधिकारी र राजाका स्थानीय प्रतिनिधिहरूलाई पठाइएको दरबार स्रोतले जनाएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन्। ह्यारी र मेगनले गर्ने कुनै पनि सार्वजनिक कार्यक्रम निजी हैसियतमा हुने र त्यसमा उनीहरूले राजपरिवारको प्रतिनिधित्व नगर्ने पत्रमा स्पष्ट पारिएको छ। पत्रमा भनिएको छ- 'सन् २०२० जनवरीमा ड्युक र डचेसले सार्वभौमको प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्न छाडेका थिए र उनीहरू अब राजपरिवारका कार्यरत सदस्य होइनन्।'
सन् २०२० मा बेलायत छाड्दा भएको ‘स्यान्ड्रिङ्घम सम्झौता’ अहिले पनि कायम रहेको दरबारले जनाएको छ। उक्त सम्झौताले राजपरिवारको सदस्यका रूपमा काम गर्दै व्यक्तिगत व्यावसायिक गतिविधि सञ्चालन गर्ने ‘आधा भित्र, आधा बाहिर’ को व्यवस्था अस्वीकार गरेको थियो। ह्यारी र मेगनले अमेरिकामा आर्थिक रूपमा आत्मनिर्भर जीवन बिताउँदै आएका थिए। ह्यारीले आफ्ना संस्मरण प्रकाशित गरेका थिए भने मेगनले खाद्य सामग्रीसम्बन्धी व्यवसाय अघि बढाएकी थिइन्।
हालै दम्पती आफ्ना छोराछोरी आर्ची र लिलिबेटसहित बेलायत फर्किएका छन्। उनीहरूले यस शरद ऋतुमा आफ्ना परोपकारी गतिविधिका क्रममा सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ। ह्यारीले आगामी वर्ष बर्मिङ्घममा हुने इन्भिक्टस खेलकुदलगायत परोपकारी कामलाई निरन्तरता दिने बताइएको छ।
यसैबीच, बेलायतमा ह्यारी र मेगनको सुरक्षासम्बन्धी विवाद भने अझै समाधान भएको छैन। दरबारले सुरक्षा व्यवस्थासम्बन्धी विषय सम्बन्धित प्रहरी निकायमार्फत अघि बढाउनुपर्ने स्पष्ट पारेको छ।
दरबारले पत्र सार्वजनिक गर्नुको उद्देश्य यस विषयमा पारदर्शिता कायम गर्नु र भविष्यमा पत्र चुहावटमार्फत सार्वजनिक हुन सक्ने अवस्था रोक्नु रहेको विश्लेषण गरिएको छ। ह्यारी र मेगनले भने यस विषयमा अझै कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।