काठमाडौं- पाटीको स्थायी कमिटी बैठक बस्नुभन्दा केहि घण्टाअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्थायी सिमिति सदस्य सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा नेम्वाङले आज बिहान दाहाललाई उनकै निवास खुमलटारमा गएर भेटवार्ता गरेका हुन् ।
पार्टी भित्रको विवाद समाधानका बारेमा नेता नेम्वाङले दाहालसँग करिब एक घण्टा छलफल गरेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
स्रोतका अनुसार नेम्वाङले दाहाललाई विवादभन्दा सहमति खोज्न सुझाएका छन् । उनले प्रतिवेदन फिर्ता लिन र दुबै अध्यक्षको साझा प्रतिवेदन बनाएर स्थायी समितिमा पेश गर्न पनि दाहालसँग आग्रह गरेका छन् । उनको आग्रहलाई दाहालले अस्विकार गरेको स्रोतले जनाएको छ ।
यसअघि हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओली निकटका स्थायी कमिटी सदस्य शंखर पोखरेलले पनि दाहाललाई भेटेका थिए ।
कात्तिक २८ गते दाहालले सचिवालय बैठकमा ओलीमाथि दर्जन बढी आरोप लगाउँदै पेश गरेको प्रतिवेदन मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा पनि पेश भएको छ।
उक्त प्रतिवेदन फिर्ता गर्न ओली पक्षले दाहाललाई दबाब दिदै आएको छ भने दाहाल कुनै हालतमा प्रतिवेदन फिर्ता नलिने अडानमा छन् ।
स्थायी समिति बैठकले नै सबै कुराको टुंगो लागाउने दाहालको अडान छ । दाहाल र माधवकुमार नेपाल समुहले ओलीले अध्यक्ष वा प्रधानमन्त्री दुईमध्ये एक पदबाट छाड्नु पर्ने माग गर्दै आएको छ । तर, ओली दुबै पद नछाड्ने अडानमा छन् ।