जनकपुरधाम। नेपाल पत्रकार महासंघ धनुषा शाखाको ११औं साधारणसभा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले चुनाव गराउनुभन्दा दुई महिना अगाडि नै साधारणसभा सम्पन्न गर्न गरेको सर्कुलरअनुसार महासंघ धनुषाको साधारणसभा सम्पन्न गरिएकाे हाे।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आगामी फागुन ३ गते आगामी नेतृत्वका लागि मतदान गर्ने निर्णय गरेको छ।
साधारणसभाको बन्द सत्रमा महासंघ धनुषा शाखाका सचिव पुरन साहले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अवधेश कामतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरिएकाे छ।
महासंघ धनुषाका अध्यक्ष अनिलकुमार मिश्रले महासंघ भवनको माथिल्लो तल्लामा रहेको नवनिर्मित सभाहललाई शास्त्री सभाकक्ष नामाकरण गर्ने प्रस्ताव प्रस्तुत गरेपछि सो प्रस्तावलाई शाखामा आवद्ध सदस्यहरूले सो प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेका थिए।
नेपालको पत्रकारितामा अतुलनीय योगदान पुर्याएका सुन्दर झा शास्त्रीको नाममा सो सभाहलको नाम शास्त्री सभाकक्ष हुने भएको छ। शास्त्रीले मैथिली भाषा तथा साहित्यमा समेत अतुलनीय योगदान पुर्याएका थिए।