काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित समितिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सकिने मस्यौदा तयार पारेको छ।
दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा गठित समितिले बिहीबार पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै सातामा दुई दिन बिदा दिन सम्भव भएको बताएको हो।
अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे छन्।
त्यसैगरी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य छन्।
दुई दिन बिदा दिंदा उत्पादकत्व वृद्धि हुने, खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने मस्यौदामा उल्लेख गरिएको छ।
त्यस्तै पारिवारिक सन्तुलन कायम गर्न, लैंगिक समानता कायम गर्न, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पार्न पनि दुई दिन बिदा आवश्यक भएको समितिले जनाएको छ।
विकसित देशमा सफल र व्यावहारिक मानिएको दुई दिन बिदा दिने चलन नेपालमा पनि स्थापित हुने समितिको निष्कर्ष छ।
समितिले ९१ प्रतिशत देशले हप्तामा दुई दिन बिदा दिने जनाएको छ। एसियाकै ८८ प्रतिशत देशले हप्तामा दुई दिन बिदा दिइरहेकाले नेपालमा पनि सहज हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।