विराटनगर– विराटनगरबाट प्रहरीले बिहीबार ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ।
विराटनगर–७ मेनरोडमा सञ्चालनमा रहेको ह्वाइट हाउस कपडा पसलबाट लाखौं रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।
तस्करीको अवैध कपडा पसलमा राखेर बिक्री गर्ने गरेको पाइएपछि पसल सञ्चालक तरुण रौनियारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रुपमा कपडा भण्डारण गरी बिक्री भइरहेको सूचनाका आधारमा वानटेन ट्रक नै लिएर प्रहरी टोली छापा हान्न पसलमा पुगेको थियो।
प्रहरीका अनुसार भारतबाट भन्सार छली गरेर अवैध रुपमा ल्याउँदै गोदाममा भण्डारण गरेर पसलदेखि ग्राहाकलाई बिक्री गर्ने गरेको पाइएको छ। पसल सञ्चालन गरिएको घरको माथिल्लो तलामा भण्डारण गरेर राखेको अवस्थामा कपडा बरामद भएको एसपी खड्काले बताए ।
ठूलो परिणाममा कपडा भण्डारण गरिएको भए पनि बिल देखाउन नसकेपछि पसल सञ्चालक रौनियारलाई पनि नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको उहाँको भनाइ छ। पसलबाट सर्ट लगायतका एक ट्रक कपडा बरामद भएको जानकारी खड्काले दिए।
खड्काका अनुसार कपडा लाखौं रुपैयाँ बराबरको भए पनि अनुसन्धानकै क्रममा रहेका कारण मूल्य यकिन हुन बाँकी छ । प्रहरी नियन्त्रणमा रहेको कपडा बिल प्रस्तुत गर्न नसकेमा आवश्यक कारबाहीका लागि बरामद भएको कपडासहित सञ्चालक रौनियारलाई विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी दिए।