काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भर्त्सना गर्दै दोषीलाई कडा कानुनी कारवाहीको माग गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत चन्द समूहलाई अपिल गरेको छ।
बैठकले पार्टीले यही मङ्सिर २९ गते तय गरेको देशव्यापी विरोध प्रदर्शनलाई भव्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गर्ने र सहभागिताका लागि सम्पूर्ण जनसमुदायमा अपिल गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कांग्रेसले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड—१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै त्यसविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने मङ्सिर १९ गते निर्णय गरेको थियो।
बैठकमा क्रियाशील सदस्यता विवरण प्रविधिमार्फत व्यवस्थापन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपभासपतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा प्रकाशशरण महत र सुनिल थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिंह केसी र डा रामशरण महतलगायत उपस्थित थिए।