एजेन्सी- अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।
कोरोना भाइरसको महामारी यता पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ५४ जनाको मृत्यु भएको हो। यसअघि गत मे ७ मा २ हजार ७६९ जनाको मृत्यु भएको थियो।
अमेरिकाका विभिन्न अस्पतालमा हाल १ लाख ६ हजारभन्दा धेरै कोरोना संक्रमित रहेका छन्। कतिपय राज्यका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्।
अमेरिकीहरुले कोरोना भाइरसविरुद्ध तय गरिएका गाइडलाइनहरु उल्लंघन गर्ने क्रम बढ्दै गएपछि संक्रमित र मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको बताइएको छ।
अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट २ लाख ८९ हजार मानिसको मृत्यु भइसकेको छ। एक करोड ५० लाखभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ।