सुर्खेत- कोरोना संक्रमणबाट आज (बिहीबार) सुर्खेतमा एक जना मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–५ का ८७ बर्षे पुरुष छन् । उनको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान ८ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मंसिर १५ देखि अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि चिनीरोगबाट ग्रसित थिए ।
उनलाई सुरुदेखि नै आइसीयूमा राखेर उपचार गरिएको थियो । अक्सिजन स्याचुरेसनको मात्रा कम भएपछि मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।