बुधबार, भदौ ३१, २०८३

सामाजिक सुरक्षा कोषले सेयरमा पनि लगानी गर्ने

सरकारले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ स्वीकृत गरेको छ।
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं- सरकारले सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ स्वीकृत गरेको छ।

सो लगानी कार्यविधि स्वीकृत भएसँगै सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताहरूको रकम लगानी गर्न पाउने भएको छ। 

सो कार्यविधिअनुसार कोषले अब योगदानकर्ताहरूलाई विशेष सापटी, घरसापटी शैक्षिक सापटी तथा भैपरी आउने कार्यलाई सुविधा प्रदान गर्ने उद्देश्यका साथ सामाजिक कार्य सापटीसमेत दिने भएको छ। 

कोषले विभिन्न परियोजना कर्जाअन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर्जामा समेत लगानी गर्ने गरी कार्यविधि बनाएको छ। 

यस्तै कोषले लगानी विविधीकरण गरी आम्दानी बढाउने र योगदानकर्ताहरूलाई बढीभन्दा बढी मुनाफा वितरण गर्न सक्ने हेतुका साथ सरकारी ऋण पत्र, मुद्दति निक्षेप, सेयर, डिवेन्चर, म्युचुअल फन्ड तथा  स्थिर सम्पत्तिमा पनि लगानी गर्ने गरी कार्यविधि बनाएको छ। 

कोषका प्रबक्ता विवेक पन्थीका अनुसार कोषले विशेष सापटी धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफुनो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्नका लागि ७५ लाख वा १५ बर्षको तलव रकम जुन कम हुन्छ सोही बराबर धितोमा ऋण दिन सक्नेछ। ऋण दिँदा लाग्ने ब्याजदर भने बजारअनुसार घटबढ हुने पन्थीले जानकारी दिए। 

शैक्षिक कर्जाको लागि पनि योगदानकर्ताले धितोमा बढीमा ३५ लाख रूपैयाँसम्म ऋण पाउन सक्ने छन् भने सामाजिक कार्यको लागि पाँच लाख रूपैयाँसम्म कोषबाट ऋण सापटी लिन सक्ने पन्थीको भनाइ छ। उनका अनुसार सामाजिक कार्य सापटी भने अन्य कोषबाट स्वाप गर्ने प्रयोजनका लागि मात्र लागू हुनेछ। 

योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कुल रकम एक करोड वा १५ बर्षको तलव बराबरको रकममध्ये कम हुने रकम सीमाभित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने पनि पन्थीले जानकारी दिए।

कोषमा योगदान गर्ने योगदानकर्ताले लगातार तीन बर्षसम्म योगदान गरेको हुनुपर्ने तर स्वाप गरेको अवस्थामा समयको हद नलाग्ने व्यवस्था कार्यविधिमा रहेको पनि कोषले जनाएको छ। 

प्रकाशित: Dec 09, 2020| 12:26 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्