काठमाडौं- सत्तारुढ नेकपामा देखिएको विवाद समाधानबारे प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार करिब डेढ घन्टा छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। दुई अध्यक्षबीच लामो संवादहीनता तोड्ने प्रयास अन्तर्गत बुधबार भेटवार्ता भएको हो।
बालुवाटार स्रोतका अनुसार उनीहरूबीच छलफल भए पनि निकास निस्किएको छैन।
यसअघि दुई अध्यक्षबीच २६ दिन लामो संवाद तोड्दै २० मंसिरको सचिवालयको बैठक अघि बालुवाटारमा छलफल भएको थियो।
नेकपाभित्रको विवाद अहिले चरम उत्कर्षमा छ। २१ गतेदेखि स्थायी कमिटीको बैठक सुरु भएको छ। उक्त बैठकमा स्थायी कमिटी सदस्यहरुलाई दुवै अध्यक्षका राजनीतिक प्रस्ताव अध्ययनका लागि बाँडिएको छ।
अब नेकपाको अर्को स्थायी कमिटी बैठक २८ मंसिरमा बस्दै छ। त्यसअघि नै दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको छ। प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भने दाहालको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने अडानमा छन्।