डोल्पा– डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवा जोगाउनका लागि पशु बिमा कार्यक्रम लागू गरिएको छ।
पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु बिमा कार्यक्रम लागू गरिएको हो।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरमा हुने क्षति न्यूनीकरण गर्दै कृषकको हिउँ चितुवाप्रतिको प्रतिशोध घटाई संरक्षण गर्न बिमा कार्यक्रम लागू गरिएको निकुञ्जले जनाएको छ।
आयआर्जनको प्रमुख आधार पशुपालन व्यवसाय भएका स्थानीय कृषकमा पशु बिमासम्बन्धी स्पष्ट धारणा बसाल्न सदरमुकाम दुनैमा कृषकलाई चारदिने तालिमसमेत दिइएको छ।
शे–फोक्सुण्डो निकुञ्ज दुर्लभ वन्यजन्तु हिउँ चितुवाको प्रमुख बासस्थान भएकाले यसलाई जोगाउन बिमा कार्यक्रम लागू गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।
कृषकले व्यावसायिकरुपमा पालन गरेका याक, चाैँरी, भेडा, च्याङ्ग्रालगायतका घरपालुवा जनावर वन्यजन्तुले क्षति पुर्याएमा आक्रोशित भएर दुर्लभ वन्यजन्तुलाई नमारुन् भन्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
पशु बिमा योजनाको खर्च स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षयकोषको ब्याज रकमबाट जम्मा गरिने बताइएको छ।
यसले वन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्न सहयोग पुग्ने कोषका कर्मचारी गौतम पौडेलले बताए।
पशुको बिमा गर्ने सदस्यले बचत तथा प्रिमियम रकमको लगानीमार्फत सस्तो ब्याजमा कर्जासमेत लिन सक्ने छन्।
रासस