पोखरा– कोभिड–१९ संक्रमणसँगै उत्पन्न विषम परिस्थितिका कारण थिलोथिलो भएको पर्यटनलाई जगाउने उद्देश्यले पश्चिमाञ्चल होटल संघ पोखराले बुधबारदेखि जाऊँ है पोखरा अभियान २०७७ फेरि अगाडि बढाउने भएको छ।
आन्तरिक पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर अभियानलाई निरन्तरता दिन लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
मंसिर २४ देखि २७ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत जनकपुर, पर्सा, वीरगन्ज, विराटनगर र चितवनलाई समेटिएको छ।
अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी– गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुनेछ।
सशस्त्र द्वन्द्व जारी रहेकै अवस्थामा संघले १८ वर्षअघि सुरु गरेको जाऊँ है पोखरा अभियानले यसपटक कोभिड १९ बाट थला परेको पर्यटनलाई जगाउने मुख्य उद्देश्य लिएको आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहेका तुलाचनले बताए।
यात्रामा होटल सञ्चालक, अन्य पर्यटनकर्मी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मी गरी १५ जना सहभागी छन्।
एक वर्षअघि चीनमा देखिएको कोरोना भाइरसका कारण लाग्ने कोभिड–१९ रोगका कारण अहिले विश्व नैै नकारात्मक रुपमा प्रभावित छ।
विश्व स्वास्थ्य संगठनले यस रोगलाई महामारी घोषणा गरेपछि आन्तरिक र अन्तर्राष्ट्रिय रुपमा मानिसको आवागमन घटेको छ।
यसको सबैभन्दा ठूलो मार भने पर्यटन क्षेत्रले भोग्नु परिरहेको छ। महिनौं लामो लकडाउनले व्यवसाय बन्द हुँदा थुप्रै व्यवसायी पलायन भएका छन्।
कतिपयले घरभाडा र बैंकको सावाँ तथा ब्याज तिर्न सकेका छैनन्। धेरैले रोजगारी गुमाएका छन्।
१० वर्षे आन्तरिक द्वन्द्वको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दो गरी प्रभावित भएको थिएन। महाभूकम्पपछि पनि पर्यटन क्षेत्र जसोतसो उठेको हो।
कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने उक्तिअनुसार आशाको उज्यालो खोज्ने प्रयासमा यो अभियान रहेको व्यवसायीले बताएका छन्।
कोभिड-१९ को संक्रमण कायमै रहँदा पोखरेली पर्यटनले भोग्नुपरेको समस्याबारे अवगत गराउने र आन्तरिक रुपमा घुम्नका लागि प्रेरित गर्ने उद्देश्य पनि समेटिएको छ।
विभिन्न वर्ष र विभिन्न चरणमा पूर्वदेखि सुदूरपश्चिम सम्म नै यात्रा गरी अभियानलाई विगतमा पनि संघले प्रभावकारी रुपमा सञ्चालन गरेको थियो।
'जाऊँ है पोखरा' अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न सफल भए पनि अहिले कोरोना भाइरसका कारण पर्यटन ठप्पजस्तो हुन पुगेको अवस्थामा अभियान अगाडि बढाउन लागिएको हो।