काठमाडौं- उत्तरी आयरल्यान्डमा कोरोना विरुद्धको भ्याक्सिन लगाउन थालिएको छ। बीबीसीका अनुसार विश्वमै पहिलो पटक ९० वर्षीया वृद्ध मार्गरेट किननले कोरोनाको भ्याक्सिन लगाएकी हुन्।
यसअघि हजारौं मानिसलाई क्लिनिकल परीक्षणको रुपमा भ्याक्सिन लगाइएको भए पनि परीक्षणबाहिर भ्याक्सिन लगाउने मार्गरेट पहिलो हुन्। कोरोनाको पहिलो भ्याक्सिन पाएर आफूले विशेष महसुस गरेको उनले बताएकी छन्।
उनलाई फाइजरको भ्याक्सिन दिइएको छ। फाइजर भ्याक्सिन आम प्रयोगका लागि बेलायतले अनुमति दिइसकेको छ।
बेलायतको स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले भने, ‘फाइजररबायोएनटेकको कोरोना भ्याक्सिन आम प्रयोगका लागि अनुमति दिइएको छ। सरकारले तोकेका सुरक्षा, गुणस्तर र प्रभावकारितासम्बन्धी सम्पूर्ण मापदण्ड फाइजर भ्याक्सिनले पूरा गरेको छ।’
फाइजर भ्याक्सिन ९५ प्रतिशत सफल र प्रभावकारी भएको कम्पनीको दाबी छ।
सुरुमा केयर होममा बस्ने वृद्धवृद्धा, स्वास्थ्यकर्मी तथा उच्च स्वास्थ्य जोखिममा रहेका व्यक्तिहरुलाई भ्याक्सिन लगाइने बताइएको छ।
कोरोना भ्याक्सिन आम प्रयोगका लागि अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ। उसले फाइजरको भ्याक्सिन ४ करोड डोज अर्डर गरिसकेको छ।