काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक उनको निवास बालुवाटारमा जारी छ।
बैठकको सुरुमा प्रधानमन्त्री ओलीले बैठक डाक्नुको कारणबारे प्रकाश पारेका थिए। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक राजनीति, कोरोना महामारी तथा अन्य सामसामयिक विषयमा बोले।
आफ्नो कुरा राखेर देउवा बैठकस्थलबाट बाहिरिएका छन्। कांग्रेसका अन्य नेताहरु भने बैठकमै रहेको बालुवाटारमा रहेका नेपाल समयकर्मी बीपी अनमोलले जनाएका छन्।
प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका हुन्।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ।
बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने प्रमका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
प्रधानमन्त्री ओली पछिल्लो समय पार्टीभित्र र पार्टी बाहिरबाट पनि घेरिँदै गएका छन्। उनलाई आफ्नै पार्टी भित्रैबाट असहयोग रहँदै आएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा जुटेको छ।
यस्तै ‘राष्ट्रिय नागरिक आन्दोलन’ को नाम दिएर राजावादीहरु पनि सडक संघर्षमा छन्। उनीहरुले गत शनिबार ‘नागरिकतन्त्रसहितको राजसंस्था’ स्थापनाको माग अघि सारेर काठमाडौंमा बृहत प्रदर्शन गरे।
उता संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा पनि सडक आन्दोलनमा उत्रिने तयारीमा जुटेको छ। राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लामा विरोध प्रदर्शनको निर्णय गरेको छ। तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटकपटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ।
मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय रूपमा उठेका प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएको भन्दै संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसँग माग पनि गरेको छ।
कांग्रेसले औपचारिक रुपमै बैठक बोलाउन आग्रह गरेको चार दिनपछि प्रम ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।