काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको हालसम्म मोटरसाइकल चोरी गर्ने १४ जनालाई कारबाही गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो।
आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने २५ वर्षीय सुजन तामाङ्लाई पक्राउ गरेको छ।
वास्तविक नम्बर प्र.३-०२-००१ प ९०४१ भई प्र.३-०२-००३ प ६५०६ नम्बर राखेर चलाएको २२० सीसीको रातो कालो पल्सरसहित उनलाई पक्राउ गरिएको महशाखाले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त मालीगाउँ पठाइएको छ।
उक्त मोटरसाइकल काठमाडौंस्थित सेतोपुलदेखि १० दिन अघि मात्र हराएको थियो।
महाशाखाको पीडित सहायता एकाइको विशेष टोलीले उपत्यकाको विभिन्न स्थानहरूबाट हराएका र चोरी भएका सवारीसाधनहरूलाई खोजतलास गर्न विशेष अभियान सञ्चालन गरिरहेको छ।
महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
‘विगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोसाकमा विशेष अपरेसन टोली खटाएका छौ,’ उनले भने, ‘धेरैजसो उपत्यकाबाट हराएका मोटरसाइकल उपत्यकाबाहिरका ग्रामीण वस्तीमा पुग्ने गरेको पाइएको छ, त्यस्ता वस्तीहरूमा समेत सुराकी परिचालन गरी सूचना संकलन गर्ने काम भइरहेको छ।’
विशेष गरी काठमाडौंका सार्वजनिकस्थल र एकान्तमा पार्किङ् गरी राखिएका मोटरसाइकलहरू चोरी हुने गरेको महाशाखाको तथ्यांक छ।
सवारीधनीहरूले अतिरिक्त लक एवं सुरक्षाका उपायहरू नअपनाउँदा चोरी हुने संख्यासमेत बढ्दै गएको देखिन्छ।
चोरी भएमा मोटसाइकल उपत्यकामा नै किनबेच हुने गरेको पाइएको छ। कतिपय मोटरसाइकल चोरले नै नम्बर प्लेट र पार्टपूर्जा परिवर्तन गरेर चलाउने गरेको पाइएको प्रहरी निरीक्षक जितेश दाहाल बताउँछन्।
‘हामीले पक्राउ गर्दा कतिपय अवस्थामा सम्बन्धित चालकलाई उसले चलाएको मोटरसाइकल चोरीको हो भन्ने समेत थाहा हुँदैन,’ उनले भने, ‘धेरै घटनामा सस्तोमा किनेको र पछि नामसारी गर्ने भनी अग्रिम केही पैसा दिने गरेको भेटिन्छ।’
दाहालका अनुसार कतिपय चोरी भएका मोटरसाइकलको नक्कली ब्लुबुकसमेत हुने गरेको छ।