काठमाडौं– बलात्कारको अभियोगमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ। उनी आजै थुनामुक्त हुने भएका छन्।
न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सोमबार गिरीलाई सफाइ दिने फैसला गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए।
गिरीलाई दोषी ठहराउन प्रमाण नपुगेको भन्दै सफाइ दिने निर्णय गरेको हो।
‘जबरजस्ती करणीको कसुर गरेको अभियोगमा दावी पुग्न नसक्ने भएकाले सफाइ दिने आदेश भएको छ,’ उनले भने।
सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेको दुई सातामै सुनसरी जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएको हो।
कारागार कार्यालय झुम्कामा थुनामा रहेका गिरीलाई सफाइ दिने अदालतको निर्णयबारे कारागार कार्यालयलाई पत्राचार भइसकेको स्रेस्तेदार पोखरेलले जानकारी दिए।
४ कात्तिक २०७६ मा बराहक्षेत्र–१ स्थित गुरुकुलमा भेट गर्न गएकी आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले गिरीविरुद्ध ८ मंसिर २०७६ मा किटानी जाहेरी दिएकी थिइन्।
प्रहरीले १६ मंसिरमा पक्राउ गरी गिरीविरूद्ध १० पुसमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो।
तर, जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले १४ पुसमा गिरीलाई तीन लाख धरौटीमा तारेखमा राख्न आदेश दिएका थिए।
त्यसपछि उनी उच्च अदालत गएका थिए। उच्चले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। पछि फेरि उनी थुनामुक्त गराइपाऊँ भन्दै सर्वोच्च अदालत गएका थिए।
सर्वोच्चले पनि उच्चकै आदेश सदर गरेको थियो। सर्वोच्चले थुनामुक्त गर्न नमिल्ने भनी आदेश दिएको दुई सातामै सुनसरी जिल्ला अदालतले सफाइ दिएको हो।